डेम्बेलेलाई छैन फाइनल गुम्ने डर

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) का चोटग्रस्त खेलाडीहरू च्याम्पियन्स लिग फाइनलअघि फिट हुँदै गएपछि टोलीलाई राहत मिलेको छ। पीएसजीले शनिबार आर्सनलविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।
पीएसजीका फरवार्ड उस्मान डेम्बेले पछिल्ला केही सातायता पिण्डुलाको समस्यासँग संघर्ष गरिरहेका थिए। तर, वर्तमान बालोन डी’ओर विजेता डेम्बेलेले शुक्रबार आफू पूर्ण रूपमा फिट र खेल्न तयार रहेको बताएका छन्।
डिफेन्डर अच्राफ हाकिमीको अवस्थाबारे भने अझ बढी चिन्ता थियो। उनी अप्रिल २८ मा बायर्न म्युनिखविरुद्धको सेमिफाइनल पहिलो लेगमा दाहिने तिघ्रामा चोट लागेपछि मैदानबाहिर थिए।
यद्यपि, मोरक्कोको विश्वकप टोलीमा परेका आक्रामक राइट–ब्याक हाकिमी मंगलबार प्रशिक्षणमा देखिएका थिए। प्रशिक्षक लुइस एनरिकेले पनि हाकिमी ठीक अवस्थामा रहेको र शनिबार खेल्न सक्षम रहेको पुष्टि गरेका छन्।
गत वर्ष इन्टर मिलानलाई ५–० ले हराउँदै इतिहासकै फराकिलो अन्तरको च्याम्पियन्स लिग फाइनल जितेको पीएसजी यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ। डेम्बेले फ्रेन्च लिगको अन्तिम खेलमा पेरिस एफसीविरुद्ध पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए। उक्त खेलमा पीएसजी पराजित भएको थियो।
बुडापेस्टस्थित पुस्कास एरिनामा आयोजित पत्रकार सम्मेलनमा डेम्बेलेले फाइनल गुम्ने डर नभएको बताएका छन्। ‘पेरिस एफसीविरुद्ध खेल्दा असहज महसुस हुनेबित्तिकै मैले खेल रोकें,’ उनले भने।
उनले क्लब विश्वकपको फाइनलसम्म पुगेपछि पीएसजीका लागि यो सिजन निकै कठिन बनेको पनि बताए। त्यसका कारण टोलीले पर्याप्त विश्राम पाउन नसकेको उनको भनाइ थियो।
प्रशिक्षक एनरिकेले पनि फाइनलअघि आर्सनलको अध्ययन गर्नुका साथै खेलाडीलाई पर्याप्त आराम दिनु आफ्नो मुख्य प्राथमिकतामध्ये एक रहेको बताएका छन्।











-1787661904658.jpeg&w=3840&q=75)

