लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा अर्जेन्टिना

काठमाडौं। चोटको चिन्ताबीच अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले कप्तान लिओनल मेसीसहित अधिकांश विश्वकप विजेता खेलाडी आगामी २०२६ विश्वकप टोलीमा रहने पुष्टि गरेका छन्। साबिक विजेता अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ।
अर्जेन्टिनी फुटबल संघले बिहीबार सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा ३९ वर्ष पुग्न लागेका मेसी मुख्य आकर्षण बनेका छन्। टोलीमा समावेश १७ खेलाडी चार वर्षअघि कतार विश्वकपको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जित्ने टोलीकै सदस्य हुन्।
विश्वकप टोली घोषणा हुनुअघि केही खेलाडी चोटका कारण अनिश्चित अवस्थामा थिए। फिफाले जुन १ सम्म अन्तिम टोली बुझाउन समय दिएको थियो। मेसी स्वयं बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकान र तनावबाट पीडित छन्।

यही समस्याका कारण उनले गत आइतबार इन्टर मियामीबाट खेलेको खेल पूरा गर्न सकेनन्। क्लबले उनको मैदान फर्किने समय स्वास्थ्य अवस्थाको प्रगतिमा निर्भर रहने जनाएको छ। यो मेसीको छैटौं विश्वकप हुनेछ।
उनले यसअघि २००६ को जर्मनी, २०१० को दक्षिण अफ्रिका, २०१४ को ब्राजिल, २०१८ को रुस र २०२२ को कतार विश्वकप खेलेका छन्। गोलकिपर एमिलियानो मार्टिनेज पनि टोलीमा परेका छन्। उनले गत साता युरोपा लिग फाइनलमा एस्टन भिल्लाबाट खेल्दा दाहिने हातको औंला भाँचिएको थियो।
स्कालोनीले टोटेनहमका डिफेन्डर क्रिस्टियन रोमेरोलाई पनि टोलीमा राखेका छन्। उनी अप्रिलको मध्यतिर दाहिने घुँडाको लिगामेन्ट चोटबाट पुनरागमनको क्रममा छन्।

त्यस्तै, डिफेन्डर नाहुएल मोलिना र गोन्जालो मोन्टियल पनि टोलीमा छन्। दुवै मांसपेशी चोटबाट निको हुँदैछन्। मोन्टियलले कतार विश्वकप फाइनलमा फ्रान्सविरुद्ध निर्णायक पेनाल्टी प्रहार गरेका थिए।
अर्जेन्टिना यसअघि १९७८, १९८६ र २०२२ मा विश्वकप विजेता बनेको थियो। टोलीले जुन १६ मा अल्जेरियाविरुद्ध खेल्दै समूह ‘जे’ अन्तर्गत विश्वकप यात्रा सुरु गर्नेछ। समूहमा अस्ट्रिया र जोर्डन पनि छन्।
अर्जेन्टिनी टोली शनिबार विश्वकप बेस क्याम्पका लागि क्यान्सस सिटी प्रस्थान गर्नेछ। प्रतियोगिताअघि टोलीले होन्डुरस र आइसल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
टोलीः
गोलकिपरः एमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुल्ली (ओलम्पिक मार्से), हुआन मुसो (एट्लेटिको मड्रिड)।
डिफेन्डरः गोन्जालो मोन्टियल (रिभर प्लेट), नाहुएल मोलिना (एट्लेटिको मड्रिड), लिसान्ड्रो मार्टिनेज (मनचेस्टर युनाइटेड), निकोलास ओटामेन्डी (बेन्फिका), लियोनार्दो बालेर्दी (ओलम्पिक मार्से), क्रिस्टियन रोमेरो (टोटेनहम), निकोलास टालियाफिको (ओलम्पिक लियोन), फाकुन्डो मेडिना (ओलम्पिक मार्से)।
मिडफिल्डरः जियोभानी लो सेल्सो (बेटिस), लिएन्ड्रो परेडेस (बोका जुनियर्स), रोड्रिगो डे पाउल (इन्टर मियामी), एक्सेकियल पालासियोस (बायर लेभरकुसेन), एन्जो फर्नान्डेज (चेल्सी), एलेक्सिस मक एलिस्टर (लिभरपुल), भालेन्टिन बार्को (आरसी स्ट्रासबर्ग अल्सास)।
फरवार्डः लिओनल मेसी (इन्टर मियामी), निकोलास गोन्जालेज (एट्लेटिको मड्रिड), जुलियानो सिमियोने (एट्लेटिको मड्रिड), लाउटारो मार्टिनेज (इन्टर मिलान), होसे मानुएल लोपेज (पाल्मेइरास), जुलियन अल्भारेज (एट्लेटिको मड्रिड), थियागो आल्माडा (लियोन), निको पाज (कोमो)।











-1787661904658.jpeg&w=3840&q=75)

