नेपालले एएफसी यू–२० एसियन कप खेल्न नपाउने

काठमाडौं। नेपालले छनोट भए पनि एएफसी यू–२० एसियन कप खेल्न नपाउने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार अर्को वर्ष चीन हुने प्रतियोगिताको छनोटका लागि समूह विभाजन गरेको छ। उक्त समूह विभाजनमा नेपाल डेभलपमेन्ट चरणमा परेको छ।
छनोट चरणमा ३२ टोलीलाई चार–चार टोली रहेको आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र उत्कृष्ट सात उपविजेता टोली ४३औं संस्करणको एएफसी यू–२० एसियन कपमा प्रवेश गर्नेछन्। साथै, प्रत्येक समूहको पुछारमा रहने टोली अर्को संस्करणको डेभलपमेन्ट चरणमा झर्नेछ।
डेभलपमेन्ट चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र उपविजेता गरी कुल ६ टोलीले अर्को संस्करणको छनोट चरणमा उक्लने अवसर पाउनेछन्।
छनोट चरणअन्तर्गत समूह ‘ए’ मा १२ पटकको च्याम्पियन दक्षिण कोरिया, आयोजक किर्गिस्तान, फिलिपिन्स र लेबनान रहेका छन्। समूह ‘बी’ मा आयोजक उज्बेकिस्तानसँग सिरिया, भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘सी’ मा इरानसँग आयोजक भियतनाम, उत्तर कोरिया र प्यालेस्टाइन छन् भने समूह ‘डी’ मा जोर्डन, ताजिकिस्तान, आयोजक बहराइन र अफगानिस्तान छन्। समूह ‘ई’ मा साउदी अरेबिया, आयोजक कतार, ओमान र हङकङ (चीन) छन्। समूह ‘एफ’ मा इराक, आयोजक थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र तुर्कमेनिस्तान प्रतिस्पर्धामा रहनेछन्।
समूह ‘जी’ मा जापान, यमन, आयोजक कम्बोडिया र कुवेत रहेका छन् भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘एच’ मा इन्डोनेसिया, मलेसिया र आयोजक लाओससँग भिड्नेछ।
डेभलपमेन्ट चरणअन्तर्गत समूह ‘आई’ मा आयोजक मंगोलिया, गुआम, नेपाल र उत्तरी मारियाना टापु छन्। समूह ‘जे’ मा चाइनि ताइपेई, सिंगापुर, आयोजक भुटान र मकाउ छन् भने समूह ‘के’ मा आयोजक म्यानमार, माल्दिभ्स, ब्रुनाई दारुस्सलाम र श्रीलंका छन्।
एएफसी यु–२० एसियन कप ची आगामी २०२७ मार्च २४ देखि अप्रिल १० सम्म आयोजना हुने तालिका छ। नेपाल १९७१, १९७२, १८७४ र २००४ मा छनोट भएको थियो। यी सबै प्रतियोगितामा नेपाल पहिलो चरणबाटै आउट भएको थियो।











-1787661904658.jpeg&w=3840&q=75)

