नेदरल्यान्ड्सको विश्वकप खेल्ने टोलीमा सर्वाधिक गोलकर्ता डेपाए

काठमाडौं। नेदरल्यान्ड्सका सर्वाधिक गोलकर्ता मेम्फिस डेपाए आगामी विश्वकप खेल्ने टोलीमा परेका छन्। प्रशिक्षक रोनाल्ड कोम्यानले बुधबार घोषणा गरेको २६ सदस्यीय टोलीमा हालै चोटमुक्त भएका तीन खेलाडीलाई समावेश गरेका हुन्।
डेपाए केही साताअघि तिघ्राको चोटका कारण मैदानबाहिर थिए। उनले आइतबार मात्र ब्राजिली क्लब कोरिन्थियन्सबाट लामो समयपछि पुनरागमन गरेका थिए। नेदरल्यान्ड्सका लागि ५५ गोल गरेका डेपाए देशका सर्वाधिक गोलकर्ता हुन्।
प्रशिक्षक कोम्यानले डेपाएको फिटनेस अझै पूर्ण नरहेको संकेत गर्दै उनी चाँडै फर्किएको भए राम्रो हुने बताएका छन्। यदि डेपाए पूर्ण फिट नभए रोमाका फरवार्ड डोनिएल मालेन विकल्पका रूपमा उपलब्ध छन्।
डच महान् खेलाडी प्याट्रिक क्लुइभर्टका छोरा जस्टिन क्लुइभर्ट पनि घुँडाको शल्यक्रियापछि टोलीमा फर्किएका छन्। प्रिमियर लिग विजेता आर्सनलका डिफेन्डर युरियन टिम्बर पनि चोटमुक्त हुँदै टोलीमा परेका छन्। उनका भाइ क्विन्टेन टिम्बरलाई पनि टोलीमा समावेश गरिएको छ।
कोम्यानले वेस्ट ह्यामका विंगर क्रिसेन्सियो समरभिललाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएका छन्। तर, लिभरपुलका विंगब्याक जेरेमी फ्रिम्पोङलाई भने चोट समस्याका कारण टोलीबाहिर राखिएको छ।
समरभिलबारे कोम्यानले उनको गति, आक्रामक खेलशैली र डिफेन्समा बलबिना खेल्ने क्षमता निकै भरोसायोग्य रहेको बताएका छन्। टोटेनहमका मिडफिल्डर जाभी सिमोन्स भने एसीएल चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। त्यस्तै, डिफेन्डर स्टेफान डे फ्राइ र माथाइस डे लिग्ट पनि चोटकै कारण टोलीमा छैनन्।
नेदरल्यान्ड्स तीन पटक विश्वकपको फाइनल पुगे पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन। टोली सन् १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो।
विश्व वरीयतामा सातौं स्थानमा रहेको नेदरल्यान्ड्सको उपाधि सम्भावनाबारे कोम्यान यथार्थवादी देखिएका छन्। उनले टोली कठिन प्रतिस्पर्धी भए पनि ठूला राष्ट्रविरुद्ध लगातार जित निकाल्नु अझै चुनौतीपूर्ण रहेको बताएका छन्।
विश्वकप तयारीका क्रममा आफूले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट टाढा रहने पनि कोम्यानले बताए। बाहिरबाट आउने सबै कुरा ध्यान भंग गर्ने तत्व भएको उनको भनाइ छ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फोटोसेसनका लागि आग्रह गरे पनि टोली त्यस्ता कार्यक्रममा सहभागी नहुने स्पष्ट पारे।
कोम्यान सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा नेदरल्यान्ड्सका कप्तान थिए। त्यतिबेला डच टोली क्वार्टरफाइनलमा ब्राजिलसँग ३–२ ले पराजित भएको थियो। उनले १९८८ मा नेदरल्यान्ड्सलाई युरोपियन च्याम्पियन बनाउने टोलीमा पनि खेलेका थिए।
नेदरल्यान्ड्सले समूह ‘एफ’ अन्तर्गत डलासमा जापानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि उसले स्विडेन र ट्युनिसियासँग खेल्नेछ।
टोलीः
गोलकिपरः मार्क फ्लेक्केन (बायर लेभरकुसेन), रोबिन रोएफ्स (सुन्डरल्यान्ड), बार्ट फेरब्रुगेन (ब्राइटन)।
डिफेन्डरः नाथन आके (म्यानचेस्टर सिटी), भर्जिल भान डाइक (लिभरपुल), डेन्जेल डुम्फ्रिस (इन्टर मिलान), जोरेल हातो (चेल्सी), यान पल भान हेके (ब्राइटन), मिकी भान डे भेन (टोटेनहम), युरियन टिम्बर (आर्सनल)।
मिडफिल्डरः रायन ग्राभेनबेर्ख (लिभरपुल), फ्रेन्की डे योङ (बार्सिलोना), ट्युन कोपमाइनर्स (युभेन्टस), टिजानी राइन्डर्स (म्यानचेस्टर सिटी), मार्टेन डे रुन (अटलान्टा), गुस टिल (पीएसभी आइन्डहोभेन), क्विन्टेन टिम्बर (मार्से), मात्स विफर (ब्राइटन)।
फरवार्डः ब्रायन ब्रोबे (सुन्डरल्यान्ड), मेम्फिस डेपाए (कोरिन्थियन्स), कोडी गाक्पो (लिभरपुल), जस्टिन क्लुइभर्ट (बोर्नमाउथ), नोआ लाङ (गलाटासारे), डोनिएल मालेन (रोमा), क्रिसेन्सियो समरभिल (वेस्ट ह्याम), वाउट वेघोर्स्ट (आयाक्स)।











-1787661904658.jpeg&w=3840&q=75)

