उदयपुरलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा

विराटनगर। स्थानीय टीडब्लूवाईसी फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगर उपाधिनजिक पुगेको हो।
प्रतिस्पर्धात्मक खेलको ४३ औँ मिनेटमा दोर्जे तामाङले गरेको गोल नै विराटनगरका लागि निर्णायक बन्यो। उनको त्यही गोलको मद्दतले टोलीले फाइनलको यात्रा तय गरेको हो। निर्णायक गोलकर्ता दोर्जे तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
विराटनगरले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र लालीगुराँस फुटबल क्लब, रानीबीच हुने आयोजकले जनाएको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।











-1787661904658.jpeg&w=3840&q=75)

