इंग्ल्यान्डका उत्कृष्ट प्रशिक्षक ल्याम्पार्ड

काठमाडौं। फ्र्याङ्क ल्याम्पार्डलाई उनका सहकर्मी प्रशिक्षकहरूले इंग्ल्यान्डको वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेका छन्। उनले कोभेन्ट्री सिटीलाई २५ वर्षपछि फेरि इंग्ल्यान्डको शीर्ष डिभिजनमा फर्काउन सफल भएका हुन्।
कोभेन्ट्री सिटीले दोस्रो श्रेणीको च्याम्पियनसिप प्रतियोगितामा ११ अंकको स्पष्ट अग्रतासहित उपाधि जित्दै शीर्ष लिगमा पुनरागमन गरेको थियो। टोलीले आक्रामक र आकर्षक खेल प्रस्तुत गरेर समर्थकहरूको मन पनि जितेको थियो।
इंग्ल्यान्डका पूर्वमिडफिल्डर ल्याम्पार्डले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटासहित अन्य सात प्रशिक्षकलाई पछि पार्दै लिग प्रशिक्षक संघद्वारा प्रदान गरिने ‘सर एलेक्स फर्गुसन ट्रफी’ जिते।
म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनले ल्याम्पार्डको प्रशंसा गर्दै भने,‘तपाईंको नेतृत्व क्षमता र व्यक्तित्व टोलीको खेल शैलीमा स्पष्ट देखिन्छ। आत्मविश्वास र भरोसाका साथ टोलीले उत्कृष्ट फुटबल खेलेको छ, जुन हेर्न निकै रमाइलो लाग्यो।’
स्पेनिस प्रशिक्षक आर्टेटालाई प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक घोषित गरिएको छ। उनले आर्सनललाई २२ वर्षपछि पहिलो पटक लिग उपाधि जिताएका थिए।
महिला फुटबलतर्फ आन्द्रे जेग्लर्ट्जले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड जिते। उनले आफ्नो पहिलो सिजनमै टोलीलाई महिला सुपर लिग उपाधि दिलाउनुका साथै महिला एफए कपको फाइनलसम्म पुर्याएका थिए।











-1787661904658.jpeg&w=3840&q=75)

