सिटीको प्रिमियर लिग जित्ने सपना समाप्त

काठमाडौं। इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीको सपना मंगलबार बोर्नमाउथसँगको बराबरीसँगै समाप्त भएको छ।
दक्षिणी तटीय शहरमा भएको खेलमा बोर्नमाउथले सिटीलाई १–१ को बराबरीमा रोक्दै आर्सनललाई २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग च्याम्पियन बन्ने बाटो खुला गरिदिएको हो।
सिजनको अन्तिम खेलअघि उपाधि सम्भावना जीवित राख्न जित अनिवार्य रहेको सिटीलाई बोर्नमाउथका १९ वर्षीय फ्रेन्च खेलाडी एली जुनियर क्रुपीले पहिलो हाफमा गरेको उत्कृष्ट गोलले ठूलो धक्का दियो।
भाइटालिटी स्टेडियममा भएको खेलको ३९औं मिनेटमा एड्रियन ट्रुफर्टको पासमा क्रुपीले एक टच लिएपछि प्रहार गरेको घुमाउरो सट सिधै पोस्टभित्र छिर्दा गोलरक्षक जियानलुइजी डोनारुम्मा निरिह बनेका थिए।
बराबरीसँगै सिटी ७८ अंकमा सीमित रह्यो भने आर्सनलले चार अंकको अपराजेय अग्रता बनाउँदै उपाधि सुनिश्चित गर्यो। बोर्नमाउथ भने ५६ अंकसहित छैटौं स्थानमा रहँदै इतिहासमै पहिलो पटक युरोपियन प्रतियोगितामा स्थान बनाउन सफल भयो।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खेलपछि आफ्ना खेलाडीले कठिन परिस्थितिमा अन्तिमसम्म संघर्ष गरेको बताए। ‘हामी अन्तिम क्षणसम्म पुग्न निकै नजिक थियौं। तर म्यानचेस्टर सिटी र मेरो टोलीका तर्फबाट आर्सनल र मिकेल आर्टेटालाई बधाई दिन चाहन्छु। उनीहरू उपाधिका योग्य थिए,’ उनले भने।
लगातार तीन खेल खेल्नुपरेको थकान टोलीमा देखिएको ग्वार्डिओलाले स्वीकार गरे। गत शनिबार एफए कपमा चेल्सीलाई हराएको सिटीले छोटो अन्तरालमै फेरि कठिन खेल खेलेको थियो।
इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो निकै ढिलो भइसकेको थियो। रोड्रीको प्रहार पोस्टमा लागेर फर्किएको बल हालान्डले जाली चुमाएका थिए। गोलपछि उनले तुरुन्त बल टिपेर दोस्रो गोलको प्रयास गर्न खोजे पनि केही सेकेन्डमै अन्तिम सिट्टी बज्यो र सिटीको उपाधि सपना समाप्त भयो।
सिटीले जनवरीयता १५ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधि दौड रोमाञ्चक बनाएको थियो। लगातार चार पटक प्रिमियर लिग जितेको टोली गत वर्ष तेस्रो स्थानमा झरेपछि पुनः बलियो पुनरागमनको अवस्थामा देखिएको थियो। तर निर्णायक मोडमा बोर्नमाउथसँग अंक बाँड्दा सबै प्रयास खेर गयो।
हालान्डले भने, ‘हामी खुसी छैनौं। अर्को सिजन क्लबमा रहने सबैले पेटभित्र आगो महसुस गर्नुपर्छ। दुई वर्ष उपाधिविहीन हुनु हामीका लागि सबैभन्दा ठूलो प्रेरणा बन्नुपर्छ।’
बोर्नमाउथका प्रशिक्षक एन्डोनी इराओलाले टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरे। सिजनपछि क्लब छाड्न लागेका उनले अन्तिम खेलमा पनि च्याम्पियन्स लिगको सम्भावना कायम रहेको बताए।
अब आइतबार एस्टन भिल्लाविरुद्ध हुने सिटीको अन्तिम खेलको लिग तालिकामा कुनै प्रभाव रहने छैन। बरु त्यो खेल ग्वार्डिओलाको सम्भावित बिदाइको भावनात्मक क्षण बन्ने अपेक्षा गरिएको छ। दशक लामो सफल यात्रापछि एउटा युग अन्त्यतिर पुगेको संकेत बोर्नमाउथको यो रातले दिएको छ।












