समस्यामा डेम्बेले

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसज)का फरवार्ड उस्मान डेम्बेलेले च्याम्पियन्स लिगको फाइनलको केही दिनअघि उपचार गराउने भएका छन्। क्लबले सोमबार दिएको जानकारीअनुसार उनको दायाँ खुट्टाको पिँडुलाको मांसपेशीमा असहजता देखिएको छ।
फ्रान्सेली खेलाडी डेम्बेले आइतबार फ्रेन्च लिगको अन्तिम खेलमा पेरिस एफसीविरुद्ध २–१ को हारका क्रममा खेलको २७औं मिनेटमै मैदानबाट बाहिरिएका थिए। त्यसपछि पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकले उनलाई थकानका कारण परिवर्तन गरिएको बताएका थिए।
पीएसजीले सोमबार जारी गरेको विज्ञप्तिमा डेम्बेलेलाई सावधानीका लागि निकालिएको जनाएको छ। गत सिजन पीएसजीलाई लिग उपाधि जिताउन डेम्बेलेले २१ गोल गरेका थिए।
त्यसपछि उनले विश्व फुटबलको प्रतिष्ठित बालोन डी’ओर पुरस्कार पनि जितेका थिए। तर, यस सिजनको पहिलो भागमा लगातार साना चोटका समस्याका कारण उनले अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन्। त्यसपछि पनि उनले लिगमा २२ खेल खेल्दै १० गोल र ७ गोलका अवसर सिर्जना गरेका छन्।
प्रशिक्षक लुइस एनरिकले उनलाई लिग खेलहरूमा सीमित रूपमा प्रयोग गरेका थिए। यद्यपि, च्याम्पियन्स लिगमा भने डेम्बेलेको प्रदर्शन निकै प्रभावशाली रह्यो। पीएसजी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ।
सेमिफाइनलमा बायर्न म्युनिख विरुद्धको दोस्रो खेलमा डेम्बेलेले सुरुआती गोल गर्दै खेल १–१ को बराबरीमा टुंग्याएका थिए। त्यससँगै पीएसजी समग्रमा ६–५ को नतिजासहित फाइनलमा पुगेको थियो।
अब पीएसजीले मे ३० मा आर्सनलसँग युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्नेछ। खेल बुडापेस्टस्थित पुस्कास एरिनामा हुनेछ।












