सुखद् बिदाइ लिँदै ग्वार्डिओला

काठमाडौं। पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आफ्नो ट्रफीले भरिएको दशक लामो यात्रालाई यसै सप्ताहन्तमा अन्त्य गर्ने भएका छन्।
५५ वर्षीय ग्वार्डिओलाले सन् २०१६ मा इङ्ग्ल्यान्ड पुगेपछि सिटीलाई ६ वटा प्रिमियर लिग उपाधि र क्लबको इतिहासकै पहिलो च्याम्पियन्स लिगसहित कुल २० वटा ट्रफी जिताएका छन्। यदि सिटीले बाँकी दुई खेलमा बोर्नमाउथ र एस्टन भिल्लालाई हरायो भने र आर्सनलले अन्तिम चरणमा क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्न असफल भयो भने ग्वार्डिओलाले अर्को एक उपाधि थप्न सक्छन्।
द डेली मेल र द एथलेटिकका अनुसार ग्वार्डिओला एस्टन भिल्लाविरुद्ध एतिहाद रंगशालामा हुने खेलपछि पदबाट अलग हुनेछन्। क्लबले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
तर, सिटीले यस सिजन जितेको लिग कप र एफए कपको उत्सव मनाउन सोमबार म्यानचेस्टरमा विजय परेड आयोजना गर्ने तयारी गरेको छ। यसलाई ग्वार्डिओलाको बिदाइ समारोहका रूपमा पनि हेरिएको छ। चेल्सी पूर्वप्रशिक्षक एन्जो मारेस्का आगामी सिजन सिटीको प्रशिक्षक बन्ने सम्भावित उम्मेदवार मानिएका छन्।
उनलेयसअघि ग्वार्डिओलाको प्रशिक्षण टोलीमा काम गरिसकेका छन्। ग्वार्डिओलाको सम्झौतामा अझै एक वर्ष बाँकी छ। तर, उनले सिजनको अन्त्यसँगै क्लब छोड्ने चर्चा महिनौंदेखि चलिरहेको थियो। सन् २०२४/२५ को सिजनमा सात वर्षपछि पहिलो पटक कुनै उपाधि जित्न नसकेको सिटीले यसपटक पुनः उत्कृष्ट पुनरागमन गरेको छ।
चेल्सीविरुद्ध शनिबार एफए कप फाइनलमा जित निकाल्दै सिटीले घरेलु कप डबल पूरा गरेको थियो। टोलीले आर्सनललाई पछि पार्दै नौ वर्षमा सातौं लिग उपाधि जित्ने सम्भावना कायम राखेको छ। ग्वार्डिओला इङ्ग्ल्यान्ड आउँदा नै युरोपका सबैभन्दा सफल प्रशिक्षकमध्ये एकका रूपमा परिचित थिए।
उनले सन् २००८ देखि २०१२ सम्म आफ्नो बाल्यकालको क्लब बार्सिलोनामा रहँदा दुई च्याम्पियन्स लिग र तीन ला लिगा उपाधि जितेका थिए। त्यसपछि उनले बायर्न म्युनिखमा तीन सिजनमा लगातार तीन लिग उपाधि थपे।
सिटीमा उनको कार्यकाल छोटो हुने अपेक्षा गरिएको थियो। तर, उनले पछिल्लो १० वर्षमा इङ्ग्लिस फुटबललाई नै गहिरो प्रभाव पारे। अबुधाबी राजपरिवारको आर्थिक समर्थनमा सिटीले स्थानीय प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इङ्ग्ल्यान्डको सबैभन्दा प्रभावशाली टोलीको रूपमा आफूलाई स्थापित गर्यो।
ग्वार्डिओलाको पासिङ फुटबल शैलीलाई अहिले तल्लो तहदेखि शीर्ष स्तरसम्म अनुकरण गरिन्छ। उनका पूर्वसहायक मिकेल आर्टेटाको प्रशिक्षणमा रहेको आर्सनल २२ वर्षपछि पहिलो लिग उपाधिनजिक पुगेको छ।
त्यस्तै आर्ने स्लटले आफ्नो प्रशिक्षण दर्शन ग्वार्डिओलाको बार्सिलोनाबाट प्रेरित भएको बताएका छन् भने नयाँ चेल्सी प्रशिक्षक जाभी आलोन्सोले पनि खेलाडी जीवनको अन्तिम चरणमा बायर्न म्युनिखमा ग्वार्डिओलासँग काम गरेर अनुभव हासिल गरेका थिए।












