२०२८ जुनसम्म बार्सिलोनामै बस्ने भए फ्लिक

काठमाडौं। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आफ्नो सम्झौता सन् २०२८ जुनसम्मका लागि नवीकरण गरेका छन्।
क्लबले सोमबार दिएको जानकारीअनुसार सम्झौतामा थप एक सिजन विस्तार गर्ने विकल्प पनि राखिएको छ। ६१ वर्षीय फ्लिकको अघिल्लो सम्झौता सन् २०२७ जुनमा सकिने तय भएको थियो।
फ्लिकको नेतृत्वमा बार्सिलोनाले आफ्नो २९औं ला लिगा उपाधि जितेको हो। टोलीले सिजन सकिन तीन खेल बाँकी रहँदै उपाधि पक्का गरेको थियो। बार्सिलोनाले मे १० मा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधि जितेको थियो।
यसअघि बायर्न म्युनिखसँग ‘ट्रेबल’ जितेका फ्लिक सन् २०२४ मा दुई वर्षे सम्झौतासहित बार्सिलोनामा आएका थिए। उनले सेप्टेम्बर २०२३ मा जर्मनी राष्ट्रिय टोलीबाट बर्खास्त भएपछि आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्ने लक्ष्य राखेका थिए।
फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले लगातार दुई ला लिगा उपाधि जित्नुका साथै २०२४–२५ को कोपा डेल रे र लगातार स्पेनिस सुपर कप पनि जितेको छ।
यद्यपि, एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि बार्सिलोना आगामी सिजन युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगितामा अझ बलियो चुनौती प्रस्तुत गर्ने तयारीमा रहनेछ।












