४० वर्षे मोड्रिचबाट क्रोएसियालाई अपेक्षा

काठमाडौं। लुका मोड्रिचलाई सोमबार क्रोएसियाको विश्वकप टोलीमा समावेश गरिएको छ। उनी आफ्नो पाँचौं विश्वकप खेल्ने तयारीमा छन्।
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। टोलीमा इभान पेरिसिच पनि छन्। उनले पछिल्ला तीन विश्वकपमा गोल गरेका थिए।
गत महिना मोड्रिचको गालाको हड्डी भाँचिएको थियो। तर, क्रोएसियाका कप्तान विश्वकपको पहिलो खेलसम्म फिट हुने अपेक्षा गरिएको छ। क्रोएसियाले जुन १७ मा इङ्ग्ल्यान्डविरुद्ध आफ्नो अभियान सुरु गर्नेछ। समूह ‘एल’मा उसले पनामा र घानासँग पनि खेल्नेछ।
४० वर्षीय मोड्रिचले सन् २०१८ मा बालोन डी’ओर जितेका थिए। उनले लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको लामो प्रभुत्व अन्त्य गरेका थिए। उनले २००६ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । १९६ खेल खेलेका उनी क्रोएसियाका सबैभन्दा धेरै खेल्ने खेलाडी हुन्।
विश्वकपमा उनले २०० अन्तर्राष्ट्रिय खेलको कीर्तिमान पनि पूरा गर्न सक्छन्। डालिचको टोली अनुभवले भरिएको छ। टोलीमा गोलरक्षक डोमिनिक लिभाकोभिच, डोमिनिक कोटार्स्की र इभोर पान्दुर रहेका छन्। डिफेन्डरहरूमा योस्को ग्भार्डिओल, दुये चालेता-कार, योसिप शुतालो, योसिप स्तानिसिच, मारिन पोंग्राचिच, मार्टिन एर्लिच र लुका भुस्कोभिच छन्।
मिडफिल्डरहरूमा लुका मोड्रिच, मातेओ कोभाचिच, मारियो पासालिच, निकोला भ्लासिच, लुका सुचिच, मार्टिन बातुरिना, क्रिस्टियान याकिच, पेटार सुचिच, निकोला मोरो र टोनी फ्रुक छन्।
फरवार्डहरूमा इभान पेरिसिच, आन्द्रेइ क्रामारिच, आन्ते बुदिमिर, मार्को पासालिच, पेटार मुसा र इगोर मातानोभिच रहेका छन्। स्ट्यान्ड–बाइ खेलाडीहरूमा लोभ्रो मायेर, फ्रान्यो इभानोभिच, डियोन ड्रेना बेल्यो, इभान स्मोल्चिच, कार्लो लेटिका, आद्रियान सेगेचिच र लुका स्तोइकोभिच छन्।












