बार्सिलोनालाई ३ ला लिगा जिताएर बिदा भए लेवान्डोव्स्की

काठमाडौं। स्पेनिस च्याम्पियन बार्सिलोनाले आइतबार रियल बेटिसलाई ३–१ ले हराउँदै घरेलु मैदानमा यस सिजनको ला लिगा यात्रा शतप्रतिशत जितसहित समाप्त गरेको छ। बार्सिलोनाले घरेलु मैदानमा खेलेका सबै १९ खेल जित्दै उत्कृष्ट कीर्तिमान बनायो।
यो खेल पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीका लागि क्याम्प नोउमा अन्तिम खेल पनि बन्यो। ३७ वर्षीय लेवान्डोव्स्कीले चार सिजनपछि क्लब छाड्ने निर्णय गरेको बार्सिलोनाले शनिबार घोषणा गरेको थियो।
यस्तै, एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजमानले पनि मेट्रोपोलिटानो स्टेडियममा समर्थकसँग भावुक बिदाइ लिएका छन्। उनी अब अमेरिकाको मेजर लिग सकर खेल्न जाने तयारीमा छन्। एट्लेटिकोले गिरोनालाई १–० ले पराजित गर्यो।
बार्सिलोनाका राफिन्हाले दुई गोल गरे भने जोआँ क्यान्सेलोले एक गोल थपे। बार्सिलोनाले दुई चरणअघि नै लगातार दोस्रो पटक ला लिगा उपाधि जितिसकेको थियो। अब लिगमा एक चरणका खेल मात्र बाँकी छन्।
लेवान्डोव्स्कीले बार्सिलोनाबाट चार सिजनमा तीन वटा ला लिगा उपाधि र एक कोपा डेल रे जितेका छन्। उनले १९२ खेलमा ११९ गोल गर्दै क्लबका लागि उत्कृष्ट योगदान दिएका छन्।
खेलपछि टोलीका खेलाडीहरूले लेवान्डोव्स्कीलाई काँधमा उठाएर सम्मान गरेका थिए। ड्रेसिङ रुमतर्फ जाँदा खेलाडीहरूले लाइन बनाएर उनलाई ताली बजाउँदै बिदाइ गरे।
भावुक हुँदै लेवान्डोव्स्कीले भने,‘यो क्लबका लागि खेल्न पाउनु मेरो लागि सम्मानको कुरा हो। यी चार वर्षमा हामीले धेरै अविस्मरणीय क्षण बितायौं। हामीले सँगै हासिल गरेको सफलताप्रति म निकै गर्व गर्छु। आज म बिदा हुँदैछु, तर बार्सिलोना सधैं मेरो हृदयमा रहनेछ। समर्थकहरूलाई धेरै धन्यवाद। एक पटक बार्सा समर्थक, सधैं बार्सा समर्थक।’












