निर्णायक मेसी

काठमाडौं। लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा इन्टर मियामीले आइतबार पोर्टल्यान्ड टिम्बर्सलाई २–० ले पराजित गरेको छ। नु स्टेडियममा मियामीको यो पहिलो जित हो।
जर्मन बेर्टेरामेले पनि इन्टर मियामीका लागि एक गोल गरे। नयाँ २६ हजार दर्शक क्षमता भएको स्टेडियममा यसअघि मियामीले तीन खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो।
मेसीले खेलको ३१औं मिनेटमा सिजनको आफ्नो १३औं गोल गर्दै टोलीलाई अग्रता दिलाए। लुइस सुआरेजको पासलाई टेलास्को सेगोभियाले अगाडि बढाएपछि मेसीले १२ यार्ड दूरीबाट पोर्टल्यान्डका गोलरक्षक जेम्स पान्टेमिसलाई छल्दै गोल गरेका थिए।
४२औं मिनेटमा बेर्टेरामेको गोलसँगै मियामीले अग्रता दोब्बर बनायो। मेसीले दुई डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई बेर्टेरामेले पोस्टको देब्रे कुनाबाट जाली चुमाए।
खेलको सुरुआती राम्रो अवसर भने पोर्टल्यान्डले पाएको थियो। ११औं मिनेटमा कोल बासेटको प्रहारलाई मियामीका गोलरक्षक डेने सेन्ट क्लेयरले बचाएका थिए।
मियामीका समर्थक समूह ला फामिलियाले खेलको अधिकांश समय मौन प्रदर्शन गरेका थिए। नयाँ स्टेडियममा खेलाडीहरूले समर्थकको उपस्थिति स्वीकार नगरेको भन्दै उनीहरूले विरोधस्वरूप चुपचाप बसेका थिए। उनीहरूले ८५औं मिनेटपछि मात्रै गीत गाउन र समर्थन गर्न थाले।
यो खेल सन् २०२३ मा फिल नेभिललाई मियामीको प्रशिक्षक पदबाट हटाइएपछि दुई टोलीबीच भएको पहिलो भेट पनि थियो। नेभिललाई हटाइएको केही समयपछि मात्रै मेसी टोलीमा आबद्ध भएका थिए।
नेभिलले खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै मेसी मियामी आएपछि आफू प्रशिक्षक पदमा नरहने सम्भावना पहिल्यै बुझेको बताएका थिए। उनले फुटबलमा यस्ता कुरा सामान्य हुन् भनेका थिए।
यसैबीच, मियामीका फरवार्ड टाडेओ आलेन्देले दाहिने घुँडाको सफल शल्यक्रिया गराएका छन्। क्लबले उनको पुनरागमनको समय भने सार्वजनिक गरेको छैन।












