एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

काठमाडौं। ला लिगाको उपाधि ‘एल क्लासिको’ को खेलपछि टुंगो लाग्ने लगभग पक्का छ। रियल मड्रिड र बार्सिलोनाबीचको यो भिडन्त दुई हप्तापछि हुनेछ।
तर, निर्णायक मानिएको यो भिडन्तमा भने रियलका स्टार फरवार्ड किलियन एमबाप्पे खेल्नेमा आशंका छ। बाँया ह्यामस्ट्रिङमा चोट लागेको कारण दुई हप्तापछि हुने खेलमा उनको सहभागिता अनिश्चित बनेको क्लबले सोमबार जानकारी दिएको हो।
क्लबले चोटको गम्भीरताबारे विस्तृत जानकारी दिएको छैन। यस्तै, एमबाप्पे कहिले फर्किने भन्ने पनि स्पष्ट पारेको छैन। क्लबका अनुसार उनको रिह्याब चोटको अवस्थाको प्रगतिमा निर्भर हुनेछ।
स्पेनी सञ्चारमाध्यमहरूले भने यो चोटले फ्रान्सेली स्टारलाई धेरै समय मैदान बाहिर राख्ने सम्भावना नरहेको बताएका छन्। रियलले १० मेमा क्याम्प नाउ रंगशालामा बार्सिलोनासँग ‘एल क्लासिको’ खेल खेल्नेछ।
सिजनका पाँच खेल बाँकी रहँदा रियल आफ्नो क्याटलान प्रतिद्वन्द्वीभन्दा ११ अंकले पछि छ। एमबाप्पेलाई शुक्रबार रियल बेटिससँग भएको १–१ को बराबरी खेलमा ८२औं मिनेटमा परिवर्तन गरिएको थियो।
फ्रान्सका यस स्ट्राइकरले यस सिजन घुँडाको समस्याका कारण केही समय खेल गुमाइसकेका छन्। विश्वकप जुन महिनामा सुरु हुनेछ।












