आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

सुनसरी। सातदोबाटो युथ क्लब १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटहरी रंगशालामा बुधबार राति सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० ले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो।
अब सातदोबाटोले बिहीबार हुने प्लानिङ बोइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीचको विजेतासँग शनिबार हुने अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटोलाई जित दिलाउन सुरजज्यु ठकुरी र समीर तामाङले एक–एक गोल गरे। ३१औं मिनेटमा सुरजले झण्डै ३० यार्ड टाढाबाट प्रहार गरेको बल सिधै जालीमा पुगेको थियो।
त्यसको चार मिनेटपछि ३५औं मिनेटमा समिरले उत्कृष्ट गोल गर्दै पहिलो हाफमै टिमलाई २–० को अग्रता दिलाए। जागृतिका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै राज भुषालको प्रहार गोलपोस्टमा लागेर फर्किएको बललाई समीरले सजिलै गोलमा परिणत गरेका थिए।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि जागृति सफल हुन सकेन र आयोजक टोली पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो। उत्कृष्ट प्रदर्शन गरेका समिर तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।






-1776247934011.jpg&w=3840&q=75)


-1776255486335.jpeg&w=3840&q=75)

