आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै
-1776247934011.jpg&w=3840&q=75)
सुनसरी । इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनलमा बुधबार आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब ललितपुरको सामना गर्दैछ ।
खेल साँझ साढे ६ बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको खेलमा जित हात पार्ने टोलीले बिहीबार हुने प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीबिचको विजेतासँग शनिबार हुने अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
इटहरी गोल्डकपको अहिलेसम्मको संस्करणमा आयोजक क्लबले उपाधि जित्न सकेको छैन । अघिल्लो संस्करणमा पनि आयोजक क्लब पहिलो खेलबाटै बाहिरिएको थियो । सो खेलमा युकेएफसीसँग २–१ ले पराजित बनेको थियो ।
प्रशिक्षक विमल मगरले केही ‘ए’ डिभिजन लिग खेलेका र स्थानीय युवा खेलाडीको संयोजन गरेर आयोजक टिमलाई मैदान उत्रार्ने तयारी गरेका छन् । अनुभवी डिफेन्डर प्रवेश दनुवारको कप्तानीमा रहेको आयोजक टिम आजको खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।
वैशाख ७ गतेसम्म चल्ने गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।












