पथरी ११ फाइनलमा प्रवेश

अर्जुन काफ्ले, पथरी। पथरी ११ भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सुनसरीको बराहक्षेत्र–५ स्थित जडेज खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी ११ ले भारतको कालिम्पोङस्थित जर्जियन क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
पथरीको जितमा मिलन राई नायक बने। उनले एक्लैले दुई गोल गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा पथरीले उत्कृष्ट प्रदर्शन गर्यो।
४९औं मिनेटमा मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। जर्जियन क्लबका खेलाडीले डि–बक्सभित्र उनलाई फउल गरेपछि पथरीले पेनाल्टी पाएको थियो।
त्यसपछि ५६औं मिनेटमा योगेश गुरुङको पासलाई सदुपयोग गर्दै मिलनले व्यक्तिगत दोस्रो गोल गरे र टोलीको अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा जर्जियन क्लबका सुबद मुण्डाले पेनाल्टीमार्फत एक गोल फर्काए पनि बाँकी समयमा थप गोल हुन सकेन।
अन्ततः पथरी ११ ले २–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो। मिलन राई ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।





-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)






