नेयमार फेरि विवादको केन्द्रमा

काठमाडौं। ब्राजिलियन स्टार नेयमार फेरि एकपटक विवादको केन्द्रमा आएका छन्।
रेमोविरुद्ध सान्तोसलाई जित दिलाएपछि दिएको उनको विवादास्पद टिप्पणी चर्चामा आएको छ भने टोलीका प्रशिक्षक कुकाले चकित पार्ने जानकारी दिएका छन्। उनका अनुसार नेयमारले आफ्नो बाँया घुँडामा फेरि शल्यक्रिया गराएका छन्।
विश्वकप खेल्ने आफ्नो सपना पूरा गर्न घुँडालाई बलियो बनाउने उद्देश्यले उनले पुनः शल्यक्रिया गराएका हुन्। कोपा सुदामेरिकानामा कुएन्काविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा कुकाले अन्तर्राष्ट्रिय ब्रेकको समयमा (जब उनलाई प्रशिक्षक कार्लो एन्सेलोट्टीले राष्ट्रिय टोलीमा बोलाएका थिएनन्) नेयमारले यो शल्यक्रिया गराएको जानकारी दिए।
कुकाले भने,‘नेयमारले फिफा अन्तर्राष्ट्रिय ब्रेकका बेला घुँडाको अप्रेशन गराएका थिए। उनले अभ्यास गरेका थिएनन्। केही दिन उनी उपचारका कारण रिह्याबमा थिए, यो पूर्ण रूपमा चिकित्सकीय विषय हो।’
यो पहिलो पटक भने होइन। यसअघि पनि उनले आफ्नै पहलमा यस्तै उपचार गराएका थिए। सान्तोसलाई रेलिगेशनबाट जोगाएपछि गत डिसेम्बरमा पनि उनले सोही घुँडामा शल्यक्रिया गराएका थिए। त्यतिबेला क्षतिग्रस्त टिस्यु बलियो बनाउन प्लेटलेट–रिच प्लाज्मा (पीआरपी) थेरापी गरिएको थियो।
उपचारपछि भने नेयमार छिट्टै टोलीमा फर्किएका थिए र रेमोविरुद्धको खेलमा सुरुदेखि नै खेलेका थिए। उनले एक असिस्ट पनि दिएका थिए। तर, खेलपछि कार्ड पाएको घटनाबारे दिएको उनको टिप्पणीले ठूलो विवाद निम्त्यायो।
रेफ्रीको निर्णयबारे बोल्दै उनले भनेका थिए,‘ रेफ्री आज सायद महिनावारी भएर उठेको जस्तो देखिन्छ।’ यसले व्यापक आलोचना निम्त्याएको छ।










-1775576795965.jpeg&w=3840&q=75)

