पथरी–११ सेमिफाइनलमा
सोमबार, २३ चैत्र २०८२खेलपाटी संवाददाता

अर्जुन काफ्ले, मोरङ। भरौल गोल्डकपको उद्घाटन खेलमा पथरी–११ विजयी भएको छ। पथरी–११ ले झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
सुनसरीको बराहक्षेत्र–५ स्थित जडेज खेल मैदानमा सोमबार सम्पन्न खेलमा पथरी–११ ले सुरुआती अग्रता बनाएको थियो।

खेलको २६औं मिनेटमा सन्जय लिम्बूले गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। ५०औं मिनेटमा घनश्याम कार्कीले गोल गर्दै झापा–११ लाई खेलमा फर्काउँदै बराबरी दिलाए।
तर, ७३औं मिनेटमा आदित्य शाक्यले निर्णायक गोल गर्दै पथरी–११ को जित सुनिश्चित गरे। उनी नै ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत मंगलबार मलेसियाको नेपाली क्लब आरटी एफसी र सुनसरीको द योङ ब्रदर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।













