टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

काठमाडौं। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले मंगलबार मैत्रीपूर्ण खेलमा जापानसँग १–० को निराशाजनक हारले आगामी विश्वकपमा टोलीको सम्भावनामा कुनै असर नपार्ने बताएका छन्।
इङ्ल्यान्डले वेम्ब्ली रंगशालामा शुक्रबार उरुग्वेसँग बराबरी खेलेपछि बनेको लय गुमाउँदै चार दिनपछि सोही मैदानमा जापानसँग हार बेहोर्नुपर्यो। खेलमा काओरु मितोमाले पहिलो हाफमै निर्णायक गोल गरेका थिए।
‘हामीले हार्नुपर्ने थिएन। तर, हार्यौं, जुन निराशाजनक छ। मलाई हार मन पर्दैन, कसैलाई जत्तिकै। तर, यसले विश्वकपमा हामीलाई ठूलो असर पार्दैन,’ उनले भने।
टुचेलले दुवै खेलमा प्रयोगात्मक टोली उतारेका थिए। कप्तान ह्यारी केन, डेक्लान राइस र बुकायो साकाजस्ता मुख्य खेलाडी सामान्य चोटका कारण अनुपस्थित थिए।
जर्मन प्रशिक्षक टुचेलका अनुसार अहिले सिजनको यस चरणमा धेरै खेलाडी क्लब फुटबलमा व्यस्त छन्। यसले पनि प्रदर्शनमा प्रभाव पारेको छ। त्यसैले उनले भने,‘यो क्याम्पले हाम्रो भविष्य निर्धारण गर्दैन। उरुग्वे वा जापानजस्ता राम्रो टोलीहरू आफ्नो बलियो टोलीसहित आए भने खेल कठिन हुन्छ,’ टुचेलले भने।
प्रिमियर लिगका स्टार खेलाडी कोल पाल्मर र फिल फोडेनले जापानविरुद्ध मौका पाए पनि प्रभाव जमाउन सकेनन्। इङ्ल्यान्डले विशेषगरी पहिलो हाफमा निकै कमजोर प्रदर्शन गर्यो र २०१७ पछि पहिलो पटक मैत्रीपूर्ण खेलमा लक्ष्यतर्फ कुनै पनि प्रहार गर्न सकेन।
मोरगन रोजर्स र जुड बेलिङ्घम पनि आक्रामक मिडफिल्डका विकल्प भएकाले पाल्मर र फोडेनलाई विश्वकप टोलीमा स्थान बनाउने विषयमा अझै अनिश्चितता छ।
टुचेलले भने,‘हामीले आक्रमण खेलाडीहरूलाई मैदानमा उतार्दा गोल, सिर्जनशीलता, प्रहार र असिस्टको अपेक्षा गर्छौं। तर, हामीले त्यो पर्याप्त देखाउन सकेनौं।’
केनको अनुपस्थितिले टोलीलाई असर परेको टुचेलले स्वीकार गरे। ‘केनबिना कुनै पनि टोलीमा त्यही स्तरको खतरा हुँदैन,’ उनले भने,‘हामी केनबिना पनि जित्न सक्छौं र जितेका पनि छौं, तर केनसँग खेल्दा जित्न सजिलो हुन्छ।’






-1775010144838.webp&w=3840&q=75)
-1775009149402.webp&w=3840&q=75)

-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)