‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’
-1774856466345.webp&w=3840&q=75)
काठमाडौं। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोले अन्ततः सन्न्यास लिने खुलासा गरेका छन्। ४१ वर्षको उमेरमा पनि अल–नासरका फरवार्ड उत्कृष्ट फर्ममा छन्।
आफ्नो करिअरमा अविश्वसनीय फर्मको निरन्तरता कायम राखेका छन्। म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्सका पूर्वस्टार आफ्नो छैटौं विश्वकप खेल्ने तयारीमा छन्। तर, थकाइ लागेको कुनै संकेत देखाएका छैनन्।
हाल चोटका कारण मैदान बाहिर रहे पनि रोनाल्डोले लामो समयसम्म आफ्नो शरीरलाई उच्च फिटनेसमा राख्न सफल भएका छन्। यसको पछाडि उनको अथक मिहिनेत छ। यस उत्कृष्ट करिअरले गर्दा नै सन् २०२७ सम्म साउदी प्रो–लिगमा उनको सम्झौता रहेको छ। एक हजार गोलको उपलब्धि हासिल गरे वा नगरे पनि उनले त्यसपछि पनि खेल्ने अनुमान पनि गरिएको छ।
मार्टिनेजका अनुसार जबसम्म रोनाल्डोभित्र खेल्ने भोक (इच्छा) रहन्छ, तबसम्म उनलाई रोक्न सक्ने केही छैन। पोर्चुगलका इतिहासकै उत्कृष्ट खेलाडीले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्।
मार्टिनेज भन्छन्,‘रोनाल्डोबारे सधैं चर्चा हुनेछ। उनी आफैंमा इतिहास हुन् र फुटबललाई परिवर्तन गरेका छन्। लिफ्टमा चढ्दा पनि मानिसहरू मौसम होइन, रोनाल्डोकै कुरा गर्छन्।’
उनले थपे, ‘मानिसहरूको सबैभन्दा ठूलो गल्ती भनेको वर्तमानका रोनाल्डोलाई सही रूपमा विश्लेषण नगर्नु हो। युरो पोर्चुगलले कुनै जित्न सकेन। किनभने क्रिस्टियानो खेलिरहेका थिए।’ फेरि हामी नेसन्स लिग जित्दा रोनाल्डोले सन्न्यास लिएपछि के हुन्छ? पनि भनियो।’
‘म सधैं सोच्थें कि खेलाडीलाई शरीरले सन्न्यास लिन बाध्य बनाउँछ। तर, वास्तवमा त्यस्तो होइन, मानसिकताले त्यो निर्णय गर्छ। रोनाल्डोको मानसिकताले अहिलेसम्म त्यो निर्णय लिएको छैन। एक उत्कृष्ट खेलाडीको शक्ति प्रतिभा मात्र होइन, उसको मानसिकता र दृढता पनि हो,’ मार्टिनेजले भने।
उनका अनुसार रोनाल्डो अहिले विंगर होइनन्, बरु बक्सभित्र खेल्ने स्ट्राइकर (नम्बर ९) हुन्। टोलीले गोल गर्न र स्थान सिर्जना गर्न उनीमाथि निर्भर गर्छ। पछिल्ला तीन वर्षमा राष्ट्रिय टोलीका लागि उनले ३० खेलमा २५ गोल गरेका छन्। उसले उनी अझै सक्षम रहेको प्रमाणित गर्छ।
रोनाल्डोले पोर्चुगललाई दुई वटा यूईएफए नेसन्स लिग र एउटा युरो उपाधि जिताएका छन्। मार्टिनेजका अनुसार प्रशिक्षक बनेपछि उनले सबैभन्दा पहिले रोनाल्डोको मानसिकता बुझ्ने प्रयास गरेका थिए।
उनले भने, ३० वर्षभन्दा माथिका धेरै खेलाडीहरू राष्ट्रिय टोलीको ब्रेकलाई आरामको अवसरका रूपमा लिन्छन्। तर, रोनाल्डोको सोच फरक छ। म राष्ट्रिय टोलीका लागि यहाँ छु, जे आवश्यक छ, उनी त्यही गर्छन्।’
अहिलेसम्म रोनाल्डोले २२६ खेलमा १४३ गोल गरेका छन्, जुन पुरुष फुटबलमा अनुपम कीर्तिमान हो। अब उनी आफ्नो चिरप्रतिद्वन्द्वी लिओनल मेसीजस्तै विश्वकप जित्ने लक्ष्यमा छन्। तर, मार्टिनेजका अनुसार टोलीमा अत्यधिक दबाब छैन।
‘पोर्चुगलमा विश्वकप जित्ने दबाबभन्दा बढी उत्साह र आशा छ। हाम्रो टोलीमा ब्रुनो फर्नान्डेस, डियोगो कोस्टा र बेर्नार्डो सिल्भाजस्ता खेलाडीहरू छन्, जसले समर्थकहरूलाई आत्मविश्वासी बनाएको छ,’ उनी भन्छन्।
उनले थपे, ‘हामीले कहिल्यै विश्वकप जितेका छैनौं, त्यसैले काम कठिन छ। साना गल्तीहरूले ठूलो फरक पार्न सक्छ। तर, पनि हामी सपना देख्न चाहन्छौं र म मेरो टोलीमा त्यही भावना देख्न चाहन्छु।’
हाल रोनाल्डो चोटका कारण टोलीमा छैनन्। अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने छैनन्। पोर्चुगलले जुन १७ बाट आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ। पहिलो खेलमा डिआर कङ्गो वा जमैकासँग प्रतिस्पर्धा हुन सक्छ। त्यसपछि समूह ‘के’ मा उज्बेकिस्तान र कोलम्बियासँग खेल्ने छ।






-1774839033537.webp&w=3840&q=75)





