युरोपमै खेल्न सलाहलाई सुझाव

काठमाडौं। इजिप्टको राष्ट्रिय टोलीका निर्देशक इब्राहिम हसनले मोहम्मद सलाहलाई लिभरपुल छोडेपछि मेजर लिग सकर (एमएसएल) मा नजान चेतावनी दिएका छन्। उनले त्यस्तो निर्णयले सलाहको लोकप्रियता घट्न सक्ने बताएका छन्।
३३ वर्षीय मोहम्मद सलाहले लिभरपुलमा नौ वर्षको सफल यात्रा पूरा गरेपछि अब आफ्नो अर्को गन्तव्यबारे निर्णय गरिसकेका छैनन्। उनले त्यहाँ दुई प्रिमियर लिग उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए।
एमएलएसका कमिश्नर डन गार्बरले सलाहलाई आफ्नो लिगमा देख्न चाहेको बताएका छन्। तर, कुनै टोलीले उनलाई अनुबन्ध गर्ने प्रयास गर्नेछ कि छैन भन्ने स्पष्ट छैन।
हसनले भने,‘व्यक्तिगत रूपमा म उनलाई युरोपमै रहन सल्लाह दिन्छु। मैले पेरिस सेन्ट–जर्मेन, बायर्न म्युनिख र इटालियन लिगका क्लबहरूबाट प्रस्ताव आएको सुनेको छु।’
उनले थपे,‘एमएलएसमा गए भने उनी धेरै हदसम्म चर्चाबाट बाहिरिनेछन्। जस्तै अहिले म (लिओनल) मेसीलाई खासै याद पनि गर्दिनँ, उनको खेल हेर्ने प्रयास पनि गर्दिनँ।’
बार्सिलोना र पेरिस सेन्ट–जर्मेनमा सफल समय बिताएपछि अर्जेन्टिनाका कप्तान मेसी सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका थिए। क्लबका सर्वाधिक गोलकर्ता बनेका छन्।
हसनले भने,‘यदि सलाह युरोपमा नबस्ने भए साउदी प्रो–लिग राम्रो विकल्प हुन सक्छ, जहाँ क्रिस्टियानो रोनाल्डोजस्ता ठूला खेलाडी खेलिरहेका छन्।’ हाल सलाह चोटका कारण टोली बाहिर छन्। उत्तर अमेरिकामा हुने विश्वकपको तयारीका लागि भइरहेको इजिप्टको प्रशिक्षण शिविर गुमाउनेछन्।
इजिप्टले शुक्रबार जेद्दामा साउदी अरेबियालाई ४–० ले हराएपछि मंगलबार बार्सिलोनामा स्पेनसँग मैत्रीपूर्ण खेल खेल्नेछ। सात पटक अफ्रिकी च्याम्पियन बनेको इजिप्ट विश्वकपमा समूह ‘जी’ मा बेल्जियम, न्युजिल्यान्ड र इरानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ।





-1774839033537.webp&w=3840&q=75)







