अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

काठमाडौं। मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल खेल्ने टोली घोषणा गरेका छन्।
उनले टोली लाओस पुगेसँगै आइतबार बिहान अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा)को सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएका हुन्।
नेपालले अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दैछ। यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, उक्त खेल लाओस नै सारिएको हो। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियो।

एन्फाले लाओसविरुद्व खेल्न शनिबार टोली थाइल्यान्डको बैंकक हुँदै पठाएको छ। तर, अन्तिम टोलीको नामावली नै सार्वजनिक नगरि टोलीलाई त्यसतर्फ पठाएको हो। एन्फाले यसपल्ट टोलीलाई बिदाइसम्म गरेन।
आइतबार समाजिक सञ्जालमा सार्वजनिक २३ सदस्सीय टोलीको कप्तानी गोलकिपर किरणकुमार चेम्जोङले नै गर्नेछन्।
तर, टोलीमा अञ्जन भने अटाउन सकेका छैनन्। अञ्जनले राष्ट्रिय जर्सीमा १३ गोल गरेका छन्।
नेपालबाट हरि खड्का र निराजन रायमाझीको नाममा पनि सर्वाधिक १३ गोलको कीर्तिमान छ । तर, अञ्जनले लामो समयसम्म पनि यो कीर्तिमान तोडिन सकेका थिएनन्। उनी पछिल्लो समय न्युरोड टिम (एनआरटी) बाट राष्ट्रिय लिग खेल्दै आएका थिए।
टोलीमा अञ्जनबाहेक मिडफिल्डर एरिक विष्ट पनि अटाउन सकेका छैनन्। छनोटको समूह एफमा रहेको नेपाल र लाओसको समान ३ अंक छ। दुवै टोली छनोटबाट बाहिरसकेका छन्।












