एन्फा निर्वाचनमा झडप हुने आंकलन छ– खत्री

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार झापामा तय भएको साधारण सभा तथा निर्वाचन रोक्न गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले मेल पठाएका छन्।
खत्रीले बुधबार सरकारको स्वीकृति बेगर जबरजस्ती एन्फाले साधारण सभा तथा निर्वाचन अगाडि बढाउन लागेकाले दुवै पक्षबीच द्वन्द्व श्रृजना भई झडपसमेत हुने आंकलन रहेकोको भन्दै प्रमुख जिल्ला अधिकारी र झापा जिल्ला प्रशासन कार्यालयलाई मेल पठाएका हुन्।

‘निर्वाचन सरकारको स्वीकृति बेगर जबरजस्ती गर्न गइरहेको हुँदा दुवै पक्षबीच द्वन्द्व श्रृजना भई झडपसमेत हुने आंकलन रहेकोले शान्ति सुरक्षा समेतलाई दृष्टिगत गरि अवैधानिक निर्वाचन रोकी पाउन विनम्र अनुरोध गर्दछु,’ उनले पठाएको मेलमा भनिएको छ।
नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन विपरीत एन्फाले शुक्रबार मेची क्राउन होटलमा साधारण सभा तथा निर्वाचन गर्न लागेको छ।












