सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

काठमाडौं। मोहम्मद सलाहले मंगलबार सिजनको अन्त्यमा लिभरपुल क्लब छाड्ने घोषणा गरेका छन्।
यससँगै क्लबका इतिहासका उत्कृष्ट गोलकर्तामध्ये एक र विश्व फुटबलका चर्चित खेलाडीको यात्रा अपेक्षाभन्दा अगाडि नै अन्त्य हुने भएको छ।
३३ वर्षीय इजिप्टेली फरवार्ड सलाहले लिभरपुलका लागि ४३५ खेलमा २५५ गोल गरेका छन्। क्लबले जनाएको अनुसार उनले आफ्नो सम्झौता सकिनु एक वर्षअघि नै टिम छोड्न सहमति जनाएका हुन्।
लिभरपुलमा नवौं सिजन बिताइरहेका सलाहको प्रदर्शन पछिल्लो समय खस्किएको थियो। गत वर्षको अन्त्यतिर केही खेलहरूमा उनलाई टिमबाट बाहिर राखिएको थियो। त्यसपछि उनले एक अन्तर्वार्तामा क्लबले आफूमाथि दोष थोपरेको आरोप लगाएका थिए।
इन्स्टाग्राममा पोस्ट गर्दै सलाहले भने,‘दुर्भाग्यवश त्यो दिन आएको छ। मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो क्लब, यो शहर र यहाँका मानिसहरू मेरो जीवनको यति ठूलो हिस्सा बन्नेछन्। लिभरपुल फुटबल क्लब मात्र होइन, यो भावना, इतिहास र आत्मा हो।’
लिभरपुलले सलाहलाई आफ्नो इतिहासकै महान खेलाडीमध्ये एक भनेर वर्णन गरेको छ। २०१७ मा एएस रोमाबाट क्लबमा आएका उनले प्रिमियर लिग दुई पटक र च्याम्पियन्स लिग एक पटक जितेका छन्। उनले कुल आठ उपाधि जितेका छन्।
सलाहले साडियो माने र रोबर्टो फिरमिनोसँग मिलेर एक शक्तिशाली आक्रमण पंक्ति बनाएका थिए। यसलाई प्रशिक्षक युर्गेन क्लोपले नेतृत्व गरेका थिए। लिभरपुलका सर्वाधिक गोलकर्ताको सूचीमा सलाह तेस्रो स्थानमा छन्। इयान रश र रोजर हन्ट उनीभन्दा अघि छन्। उनले प्रिमियर लिगको ‘गोल्डेन बुट’ चार पटक जितेका छन्।
यस सिजनमा प्रशिक्षक आर्ने स्लटसँगको विवादले पनि उनको बिदाइलाई केही खल्लो बनाएको छ। एक खेलमा बेन्चमा बसाइएपछि उनले आफूलाई मात्र दोष दिन खोजिएको आरोप दोहर्याएका थिए।
अफ्रिका कप अफ नेसन्सपछि टोलीमा फर्किए पनि उनले पुरानो लय समात्न सकेनन्। हाल उनी गालातासारायविरुद्धको खेलमा लागेको मांसपेशी चोटका कारण बाहिर छन्। आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै सलाहले भने,‘तपाईंहरूले मेरो जीवनको उत्कृष्ट समयमा साथ दिनुभयो र कठिन समयमा पनि साथ छोड्नुभएन। यो कुरा म कहिल्यै बिर्सिनेछैन।’
लिभरपुलको यस सिजनको अन्तिम प्रिमियर लिग खेल ब्रेन्टफोर्डविरुद्ध मे २४ मा हुनेछ। साथै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग खेल्नेछ।
टिमका डिफेन्डर एन्ड्र्यू रोबर्टसनले सलाहको प्रशंसा गर्दै भने,‘उनको मानसिकता अतुलनीय छ। उनीसँग खेल्न पाउनु र उनलाई साथी भन्न पाउनु गर्वको कुरा हो।’










-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)
