‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’

काठमाडौं। नेपालको फुटबल क्षेत्रमा पछिल्लो समय देखिएको अन्योल र विवादबीच संकटा क्लबले आफ्नो असन्तुष्टि सार्वजनिक गरेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण आफ्नो ठूलो आर्थिक लगानी असुरक्षित बनेको जनाएको हो।
एन्फाले सञ्चालन गरेको महिला फुटबल लिग क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै संकटा पहिलो स्थान हासिल गरी महिला लिगका लागि छनोट भएको थियो। त्यस्तै, क्लब अहिले राष्ट्रिय लिग पुरुष फुटबल प्रतियोगितामा पनि प्रतिस्पर्धा गरिरहेको छ। महिला फुटबलको विकासका लागि क्लबले देशभरका प्रतिभाशाली खेलाडीहरूसँग दीर्घकालीन सम्झौता गर्दै विभिन्न प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको पनि जनाएको छ।
तर, हाल विभिन्न सञ्चार माध्यममा विदेशी खेलाडीहरूले श्रम स्वीकृति बिना पर्यटक भिसामा खेलिरहेको विषय सार्वजनिक भएपछि एन्फाले राष्ट्रिय लिग र महिला लिग स्थगित गरेको घटनाले क्लब प्रत्यक्ष प्रभावित भएको जनाएको छ। संकटाले भने आफूले प्रतियोगिताको नियमावलीअनुसार विदेशी खेलाडीहरूलाई विधिवत् अनुबन्ध गरी खेलाएको स्पष्ट पारेको छ। साथै, एन्फाकै निर्देशनअनुसार आवश्यक सबै कागजात प्रतियोगिता सुरु हुनु अगावै बुझाएको दाबी गरेको छ।
पत्रकार सम्मेलनमा एन्फाका सीईओ तथा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भने,‘हामीले सबै प्रक्रिया पूरा गरेर मात्रै प्रतियोगितामा सहभागी भएका थियौं। तर, अहिले आएर लिग नै स्थगित हुँदा हाम्रो ठूलो लगानी जोखिममा परेको छ। एन्फाकै कारण लगानी असुरक्षित बनेको महसुस गरेका छौं।’
क्लबले दिएको विवरणअनुसार पुरुष राष्ट्रिय लिगका लागि करिब ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ४३ लाखभन्दा बढी खर्च भइसकेको छ भने महिला लिग तथा क्वालिफायरका लागि ७९ लाख रुपैयाँ बजेटमध्ये ३७ लाखभन्दा बढी खर्च भइसकेको छ।
खेलाडी पारिश्रमिक, आवास, बीमा, विदेशी खेलाडीको तलब तथा भिसा, प्रशिक्षक तथा प्राविधिक स्टाफ, खेल सामग्री र व्यवस्थापनमा ठूलो लगानी भएको क्लबले जनाएको छ।
क्लबले अहिलेको परिस्थितिले खेलाडी, प्रशिक्षक र प्राविधिक जनशक्ति पलायन हुने जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्था जारी रहेमा नेपाली फुटबलको समग्र विकासमै नकारात्मक असर पर्ने र भविष्यमा यस क्षेत्रमा लगानी गर्न चाहने संस्थाहरू समेत निरुत्साहित हुने चेतावनी क्लबले दिएको छ। साथै, एन्फाले स्पष्ट, पारदर्शी र जिम्मेवार निर्णय लिनुपर्ने माग पनि गरेको छ।











-1774194974029.jpeg&w=3840&q=75)
