विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना

काठमाडौं। फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको केही समयपछि नै अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको मौरिटानिया अहिले पनि विश्व फुटबलमा खासै चिनिएको टोली होइन। तर, यसपटक भने विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको कारण चर्चामा छ।
सन् १९६३ अप्रिलमा पहिलोपटक मैदान उत्रिएको मौरिटानिया राष्ट्रिय टोलीले आफ्नो डेब्यु खेलमा कंगोसँग ६–० को फराकिलो हार बेहोरेको थियो।
त्यसपछि १९७० मा फिफाको सदस्यता प्राप्त गरे पनि टोलीले अहिलेसम्म विश्व फुटबलमा बलियो स्थान बनाउन सकेको छैन। यही टोलीले आगामी २८ मार्चको बिहान अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
विश्वकप छनोटमा मौरिटानियाले पहिलोपटक १९७८ संस्करणका लागि सहभागिता जनाएको थियो। संयोगले सोही वर्ष अर्जेन्टिनाले पहिलो विश्वकप जितेको थियो। त्यसयता १३ पटक छनोट खेले पनि मौरिटानिया कहिल्यै मुख्य चरणमा पुग्न सकेको छैन।
२०२६ विश्वकप छनोटमा पनि टोलीको प्रदर्शन सन्तोषजनक रहेन। ६ टोली रहेको समूह ‘बी’ मा पाँचौं स्थानमा रहेर बाहिरिएको थियो। एक जित, चार बराबरी र पाँच हार यही नै टोलीको नतिजा रह्यो। हाल फिफा वरियतामा ११५औं स्थानमा रहेको मौरिटानियाको उत्कृष्ट स्थान २०१७ मा ८१औं थियो।
अर्कोतर्फ, फिफा वरियताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनासँगको दूरी निकै ठूलो छ। त्यसैले यो खेललाई ‘डेभिड भर्सेस गोलियाथ’ भन्दा पनि बढी असमान मानिन्छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक शहर चिन्गुएट्टीको नामबाट मौरिटानिया टोलीलाई ‘लायन्स अफ चिन्गुएट्टी’ भनेर चिनिन्छ। यसले टोलीको सांस्कृतिक पहिचान झल्काउँछ।
मौरिटानियाले अफ्रिका कप अफ नेसन्समा हालसम्म तीन पटक (२०१९, २०२१ र २०२३) सहभागिता जनाएको छ। तर, पछिल्लो संस्करणमा भने छनोट हुन सकेको छैन। टोलीका वर्तमान प्रशिक्षक स्पेनका आर्तिज लोपेज गराइ हुन्। उनले २०२४ मा टोली सम्हालेका थिए।
यस अन्तर्राष्ट्रिय ब्रेकमा मौरिटानियाले दुई मैत्रीपूर्ण खेल खेल्नेछ। २५ मार्चमा अर्जेन्टिनासँग र ३१ मार्चमा मोरोक्कोमा प्यालेस्टाइनसँग। यी खेलका लागि २६ सदस्यीय टोली घोषणा गरिएको छ। यस टोलीका १३ खेलाडी युरोपका विभिन्न क्लबमा खेल्छन्।
चर्चित खेलाडीमा ग्रीसको क्लब एके एथेनसका अबुबकरी कोइता र स्कटल्यान्डको क्लब रेन्जर्सका जाइदी गासामा पर्छन्। गासामा हाल टोलीका सबैभन्दा महँगा खेलाडी हुन्।
उनको बजार मूल्य करिब ७० लाख युरो रहेको छ। नयाँ अनुहारकामा सेन्ट्रल डिफेन्डर जोर्डन लेफोर्ट पनि टोलीमा परेका छन्।
फ्रान्समा जन्मिएका उनले आफ्नी श्रीमती सानाको मौरिटानियाली मूलका कारण राष्ट्रिय टोलीमा स्थान पाएका हुन्। प्रशिक्षक गराइका अनुसार अर्जेन्टिनाविरुद्ध खेल्नु मौरिटानियाका लागि ठूलो अवसर हो। उनले भने, ‘हामी सानो अफ्रिकी देश हौं। विस्तारै फुटबलमा अगाडि बढिरहेका छौं। अर्जेन्टिनाविरुद्ध खेल्नु हाम्रो लागि सम्मानको विषय हो।’
उत्तर–पश्चिम अफ्रिकामा अवस्थित इस्लामिक रिपब्लिक अफ मौरिटानियाको करिब ९० प्रतिशत भूभाग सहारा मरुभूमिमा पर्छ। राजधानी नुआकशोट आसपास र दक्षिणी क्षेत्रमा मात्र बाक्लो जनसंख्या छ।
१९६० नोभेम्बर २८ मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको मौरिटानियाले लामो समय राजनीतिक अस्थिरता भोगेको थियो। तर, २०१९ मा पहिलोपटक शान्तिपूर्ण सत्ता हस्तान्तरण भएको थियो।
विशेष कुरा के छ भने १९८१ मा मौरिटानियाले संसारमै सबैभन्दा पछि दासप्रथा औपचारिक रूपमा अन्त्य गरेको देशका रूपमा इतिहास बनाएको थियो। कठोर जलवायुका बाबजुद पनि मौरिटानिया प्राकृतिक स्रोतमा धनी छ।
विशेषगरी माछा, फलाम र सुन निर्यातबाट देशले ठूलो आम्दानी गर्छ। पछिल्लो समय ग्यासको खोजीले आर्थिक सम्भावना अझ बढाएको छ।
फुटबलमा अझै अपरिचित भए पनि मौरिटानियाबारे अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भने जानकार छन्। अर्जेन्टिना राष्ट्रिय टोली सम्हाल्नु अघि उनले मौरिटानिया यु–२० टोलीलाई प्रशिक्षण दिएका थिए।
२०१८ मा स्पेनमा भएको ला अलकुडिया प्रतियोगितामा स्कालोनीको डेब्यु खेल पनि मौरिटानियाविरुद्ध नै थियो। उक्त खेलमा अर्जेन्टिनाले २–० को जित निकालेको थियो। त्यस प्रतियोगितामा अर्जेन्टिना यु–२० टोलीले उपाधिसमेत जितेको थियो।











-1774194974029.jpeg&w=3840&q=75)
