मेसीको एक गोल र एक असिस्ट

काठमाडौं। लिओनल मेसीको एक गोल र एक असिस्टसँगै इन्टर मियामीले आइतबार यान्की स्टेडियममा न्यूयोर्क सिटी एफसीलाई ३–२ ले पराजित गर्दै पुनरागमन जित हात पारेको छ।
इन्टर मियामीले यो जितसँगै पूर्वी सम्मेलनमा दोस्रो स्थानमा बराबरी बनाएको छ। न्यूयोर्क सिटी एफसीले भने यस सिजनको पहिलो हार बेहोर्यो। गोन्जालो लुजानले खेलको चौथो मिनेटमै रिबाउन्डमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाए। २१ वर्षीय डिफेन्डरले आफ्नो करिअरको पहिलो गोल गरेका हुन्।
निकोलास फर्नान्डेजले १७औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै न्यूयोर्क सिटीलाई खेलमा फर्काए। उनले पछिल्लो समय उत्कृष्ट लय कायम राख्दै सिजनको पाँचौं गोल गरेका हुन्।
५९औं मिनेटमा अगुस्तिन ओहेदाले म्याक्सी मोरालेज र केभिन ओ’टुलको पासमा गोल गर्दै न्यूयोर्क सिटीलाई २–१ ले अघि बढाए। यो उनको सिजनको दोस्रो गोल थियो।
तर, यो अग्रता धेरै समय टिकेन। त्यसको दुई मिनेटपछि मेसीले बायाँ खुट्टाले प्रहार गरेको फ्रिकिक डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो र इन्टर मियामीले २–२ को बराबरी गर्यो। यो मेसीको सिजनको चौथो गोल हो।
एमएलएसमा उनले ५८ खेलमा ५४ गोल गरिसकेका छन्। आफ्नो अन्तर्राष्ट्रिय र क्लब करिअरमा कुल ९०१ गोल पूरा गरेका छन्।
७४औं मिनेटमा मेसीको कर्नर किकमा माइकेल दोस सान्तोसले हेडरमार्फत गोल गर्दै इन्टर मियामीलाई ३–२ को अग्रता दिलाए। नोआ एलेन र डेभिड आयालाले उक्त गोलमा सहयोग गरेका थिए।
इन्टर मियामीका गोलकिपर डेयन सेन्ट क्लेयरले तीनवटा प्रहार बचाए भने न्यूयोर्क सिटीका म्याट फ्रीसले पाँचवटा सेभ गरे। पहिलो हाफमा मेस्सीका केही प्रहार पोस्ट र क्रसबारमा लागेर फर्किएका थिए।
समग्र प्रतिस्पर्धामा न्यूयोर्क सिटी एफसी ७–४–४ ले अघि रहे पनि पछिल्ला सात खेलमा इन्टर मियामी अपराजित रहँदै ३ जित र ४ बराबरी हासिल गरेको छ।










-1774194974029.jpeg&w=3840&q=75)

