हिमालयन डुओ चेस शनिबार

हिमालयन चेस एकडेमीका निर्देशक याईशाष यासिर खम्बू (दायाँ) र प्रशासन प्रमुख नविना राई ।
काठमाडौं। हिमालयन डुओ चेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने भएको छ। भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा हुने एक दिने प्रतियोगिता ‘बगहाउस फर्म्याट’ मा सञ्चालन गरिनेछ।
आयोजक हिमालयन चेस एकेडेमीका अनुसार प्रत्येक टिममा दुई खेलाडी हुनेछन्। यसमा कम्तीमा एक खेलाडी अनरेटेड हुनुपर्नेछ। दुवै खेलाडी फिडे रेटेड राखेर टिम बनाउन पाइने छैन। तर, दुवै खेलाडी अनरेटेड भने हुनसक्नेछ।
प्रतियोगिता स्वीस प्रणालीको आधारमा पाँच राउन्ड खेलाइनेछ। प्रत्येक राउन्ड पाँच मिनेटको हुनेछ। टिम निर्माणमा परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई संलग्न गर्नुपर्ने बताइएको छ।
कुल १५ हजार रुपैयाँ पुरस्कारको हिमालयन डुओमा उपाधि जित्ने टिमले ट्रफी, मेडलसँगै नगद सात हजार पाउनेछ। उपविजेताले पाँच हजार र तेस्रो हुने टिमले तीन हजार हात पार्नेछन्।
गत वर्ष आयोजित हिमालयन डुओको पहिलो संस्करणमा सुजन काफ्ले र सविन खतिवडाको टिम नाइटमेर कजिन्स च्याम्पियन भएको थियो। अनमोल राई र प्रवीर केसीको गोथ नाइट्स उपविजेता भएको थियो भने लियोन महर्जन र शुभ तुल्स्यानको टिम नाइट्स ग्याम्बिट तेस्रो स्थानमा रहेको थियो।
एकेडेमीको थापाथलीस्थित आफ्नै हलमा आयोजित प्रतियोगितामा १७ टिम सहभागी थिए। एकेडेमी भक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।
२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १३ औं प्रतियोगिता पनि हो– हिमालयन डुओको दोस्रो संस्करण। उसले यसअघि ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १२ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।





-1771251202949.avif&w=3840&q=75)







-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)