आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा
-1771470155413.webp&w=3840&q=75)
काठमाडौं। आर्सनलले अन्तिम स्थानमा रहेको वुल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लबविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा उपाधि दौडमा म्यानचेस्टर सिटीलाई ठूलो फाइदा पुगेको छ।
लिगको शीर्ष टोली आर्सनल मोलिनक्स मैदानमा २–० को अग्रता लिए पनि खेल २–२ को बराबरीमा टुंगियो। खेलको अतिरिक्त समयको चौथो मिनेटमा किशोर खेलाडी टम एडोजीले डेब्यु खेलमै गोल गर्दै वुल्भ्सलाई सनसनीपूर्ण पुनरागमन दिलाए।
आर्सनलका फरवार्ड बुकायो साकाले खेलपछि भने,‘पहिलो र दोस्रो हाफमा हाम्रो प्रदर्शनमा ठूलो फरक देखियो। हामीले आफ्नो स्तर घटायौं र त्यसको सजाय पायौं।’
यस बराबरीसँगै आर्सनलले लगातार दुई खेलमा अंक गुमाएको छ। उसले एक खेल बढी खेलेको अवस्थामा दोस्रो स्थानमा रहेको सिटीभन्दा पाँच अंकले मात्र अग्रता बनाएको छ। शीर्ष दुई टोलीबीच सिटीको इतिहाद रंगशालामा प्रत्यक्ष भेट हुन बाँकी रहेकाले उपाधि दौड अझै रोचक बनेको छ।
साकाले भने,‘अब आफूमा केन्द्रित हुने, आफ्नो स्तर सुधार्ने र प्रदर्शन उकास्ने समय हो। सबै कुरा अझै हाम्रो नियन्त्रणमै छ।’ सिजनको अधिकांश समय शीर्ष स्थानमा रहेको आर्सनलले यस महिनाको सुरुआतमा ९ अंकको अग्रता बनाएको थियो।
तर, पछिल्ला नतिजाले टोली दबाबमा परेको संकेत दिएका छन्। पछिल्ला तीन सिजनमा उपविजेता बनेको आर्सनलले लिगका पछिल्ला सात खेलमध्ये दुई मात्र जितेको छ।
गत साता ब्रेन्टफोर्डविरुद्ध अग्रता गुमाएको आर्सनलका लागि वुल्भ्ससँगको खेल झनै निराशाजनक बन्यो। यस सिजन एक मात्र खेल जितेको वुल्भ्सविरुद्ध जित सुनिश्चितजस्तै देखिएको थियो।
खेलको पाँचौं मिनेटमा साकाको हेडरमार्फत आर्सनलले अग्रता लियो भने ५६औं मिनेटमा पिएरो हिन्कापिएले गोल गर्दै अग्रता दोब्बर पारे। तर, ६१औं मिनेटमा ह्युगो बुएनो को आकर्षक कर्लिङ प्रहार गोलमा परिणत भएपछि वुल्भ्स खेलमा फर्कियो।
८४औं मिनेटमा मैदान छिरेका १९ वर्षीय एडोजीले अतिरिक्त समयमा गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाए। यस नतिजाले वुल्भ्सको रेलिगेसन संकटलाई धेरै फरक नपारे पनि उपाधि दौडमा ठूलो असर पार्ने सम्भावना छ।
प्रशिक्षक मिकेल आर्टेटाले भने,‘हामी अत्यन्त निराश छौं। दुई अंक गुमायौं। दोस्रो हाफमा हाम्रो प्रदर्शन प्रिमियर लिग जित्न आवश्यक स्तरभन्दा धेरै तल थियो। जब प्रदर्शन राम्रो हुँदैन, सजाय पाइन्छ र आज हामीले त्यही भोग्यौं।’
आर्सनलले आइतबार टोटेनहमसँग खेल्नेछ। त्यसअघि सिटीले शनिबार न्युक्यासलविरुद्ध जित निकालेमा आर्सनलको अग्रता दुई अंकमा झर्न सक्छ।





-1771470795575.webp&w=3840&q=75)





-1771411348886.jpeg&w=3840&q=75)