फेरि समस्यामा डेम्बेले

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) का फरवार्ड उस्माने डेम्बेलेको निराशाजनक सिजन फेरि झनै कठिन बनेको छ।
मंगलबार मोनाकोविरुद्धको च्याम्पियन लिग प्लेअफमा पहिलो हाफमै उनी चोटका कारण मैदान छाड्न बाध्य भए।
डेम्बेलेको स्थानमा आएका डेजिरे डुएले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे र अर्को गोलमा महत्त्वपूर्ण भूमिका खेले। पीएसजीले खेल ३–२ ले जित्दै अर्को बुधबार पेरिसमा हुने दोस्रो लेगअघि अग्रता बनाएको छ।
खुट्टाको समस्याका कारण डेम्बेले खेलअघि नै शंकाको घेरामा थिए। स्टेड लुई द्वितीयमा भएको खेलको २६औं मिनेटमा उनी मैदानबाट बाहिरिए।
टेलिभिजन दृश्यमा उनलाई दुईपटक बायाँ खुट्टाको पिँडुलोको पछाडिको भाग समाउँदै देखिएको थियो। यस सिजन उनी पटक–पटक चोटबाट प्रभावित हुँदै आएका छन्।
प्रशिक्षक लुइस एनरिकेले डेम्बेलेलाई खेलाउँदा कुनै जोखिम नलिएको बताएका छन्। गत सिजन ३५ गोलसहित टोलीका सर्वाधिक गोलकर्ता रहेका डेम्बेलेबारे उनले भने,‘हामीलाई हरेक खेलाडीको अवस्था थाहा हुन्छ। कुनै जोखिम लिइएको थिएन। उनले सामान्य अभ्यास गरेका थिए। तर, पहिलो १५ मिनेटमै ठोक्किएपछि दौडन सकेनन्।’
डेम्बेले बाहिरिँदा पीएसजी २–० ले पछि परेको थियो। तर, टोलीले पुनरागमन गर्दै हाफटाइमसम्म २–२ को बराबरी गर्यो।
यसअघि पनि फ्रान्सका लागि खेल्दा सिजनको सुरुआतमै उनी घाइते भएका थिए। नोभेम्बरमा बायर्न म्युनिखविरुद्धको खेलमा पनि उनी पहिलो हाफमै बाहिरिएका थिए। साथै, पूर्वक्लब बार्सिलोनामा रहँदा पनि उनी चोट समस्याले सताइएका थिए।
डेजिरे डुएले डेम्बेले बाहिरिएको दुई मिनेटमै तल्लो दायाँ कुनामा प्रहार गर्दै पीएसजीका लागि पहिलो गोल फर्काए। गोलपछि उनले कान छोप्दै उत्सव मनाए, मानौं हालैको आलोचनालाई बेवास्ता गरिरहेका थिए।
‘प्रशिक्षकले आफ्नो निर्णय गर्छन्। जित वा हार दुवैमा टोलीकै भूमिका हुन्छ,’ डुएले भने,‘यस्ता खेलमा जित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
हाफटाइम नजिकै डुएले प्रहार गरेको बल गोलकिपर फिलिप कोहनले बचाए पनि रिबाउन्डमा राइट ब्याक अशरफ हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याए।
६७औं मिनेटमा वारेन जाइरे–एमेरीको पासमा डुएले दोस्रो गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। यसअघि २२औं मिनेटमा कोहनले भिटिन्हाको पेनाल्टी बचाएका थिए।
साथै, मोनाकोका मिडफिल्डर अलेक्जान्डर गोलोभिन भिटिन्हामाथि लापरवाही फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएर मैदान बाहिरिएका थिए।













