सलाह प्रेरित लिभरपुलको शानदार जित

काठमाडौं । मोहम्मद सलाहको एक गोल र एक असिस्टको मद्दतले लिभरपुलले ब्राइटनलाई सहजै पराजित गर्दै एफए कपको पाँचौं चरणमा स्थान पक्का गरेको छ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै ब्राइटनमाथि हाबी भएको हो।
खेलको पहिलो हाफको ४२औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। जोन्सले मिलोस केर्केजको क्रसलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए। दोस्रो हाफमा लिभरपुल अझ आक्रामक देखियो।
५६औं मिनेटमा डोमिनिक सोबोस्लाईले लिभरपुलको अग्रता दोब्बर बनाए। सलाहको पासमा सोबोस्लाईले प्रहार गरेको शक्तिशाली सट गोलमा परिणत भएको थियो।
खेलको ६६औं मिनेटमा सलाहलाई पेनाल्टी बक्सभित्र लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो। सलाह आफैंले सो पेनाल्टीलाई गोलमा बदल्दै टोलीको जित सुनिश्चित गरे।
ब्राइटनले केही राम्रा अवसरहरू सिर्जना गरे तापनि गोल गर्न असफल रह्यो। यो हारसँगै ब्राइटनको पछिल्ला १५ खेलहरूमा मात्र दुई जितको खराब लय जारी रहेको छ।
खेलको अन्त्यतिर १७ वर्षीय रियो नुमोहाले गोल गरे तापनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए। रिप्लेमा गोल सही देखिए पनि एफए कपको यस चरणमा भीएआर उपलब्ध नभएका कारण नुमोहा आफ्नो पहिलो गोल गर्नबाट चुकेका थिए ।











