आयोजक झापा–११ सेमिफाइनलमा
बिर्तामोड। आयोजक झापा–११ फुटबल क्लब सातौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।
खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । सिङलिङले विपक्षी पोष्टमा खासै अवसर सिर्जना गर्न सकेन ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।










-1770628505169.jpg&w=3840&q=75)

