उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

काठमाडौं। आफ्नै ब्याट मैदानमा ल्याउन बिर्सिएपछि क्विन्टन डि ककले असामान्य परिस्थितिमा खेल्नुपर्यो।
खेल सुरु हुन आधा घण्टा बाँकी रहँदा मात्रै ब्याट छुटेको थाहा पाएपछि हतार–हतार फोनसम्पर्क गरे। अलमल गरे। तर, मैदानमा उत्रिएपछि उनले त्यो गल्तीलाई ब्याटिङमार्फत पूरै ढाकछोप गरिदिए। टोलीका युवा खेलाडी डेवाल्ड ब्रेविसको उधारो ब्याट प्रयोग गर्दै डि ककले टी–२० करिअरकै सर्वाधिक ११५ रन बनाए। यति ठूलो उपलब्धिपछि पनि उनी भने पूर्ण रूपमा सन्तुष्ट छैनन्।
बिहीबार वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाको जितमा डि ककले निर्णायक भूमिका खेले। खेलअघि हाइभेल्डतर्फ जाँदा आफ्नो ब्याट बिर्सिएको थाहा पाएपछि उनले आफूलाई ‘बेवकुफ’ महसुस गरेको बताए।
खेलपछि डि ककले भने,‘नयाँ झोलामा सामान मिलाउँदा ध्यान गएन। बस छुट्न आधा घण्टा बाँकी हुँदा मात्रै ब्याट छैन भन्ने थाहा पाएँ। त्यसपछि एक–दुईवटा फोन गर्नुपर्यो।’
डि ककका ब्याट तटीय क्षेत्रमा थिए। त्यहाँबाट ल्याउन कम्तीमा दुई घण्टाको उडान भर्नुपर्थ्यो। समयमै ल्याउन सम्भावना नभएपछि उनले ड्रेसिङ रुममा टोलीका साथीहरूको ब्याग हेरे। ब्रेविस र रायन रिकेलटनका ब्याग हेरे। अन्तत उनले ब्रेविसको ब्याट रोजे।
‘ब्रेविसको ब्याट उठाएर यही प्रयोग गर्छु भनें,’ डि ककले हाँस्दै भने,‘उसले यो ब्याट बाँया हातका खेलाडीका लागि राम्रो हो भनेर मजाकमा बन्यो। आजकल युवा खेलाडीहरू यस्तै कुरा गर्छन्।’ त्यही ब्याट प्रयोग गर्दै डि ककले ६ चौका र १० छक्का प्रहार गर्दै ११५ रन बनाए।
यो उनको टी–२० करिअरको दोस्रो शतक र सर्वाधिक व्यक्तिगत स्कोर हो। यससँगै उनी दक्षिण अफ्रिकाका लागि टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने। एसए २० लिगमा देखिएको उत्कृष्ट फर्मलाई उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि निरन्तरता दिए।
तर, यति सानदार प्रदर्शनपछि पनि डि कक उधारो ब्याटप्रति खासै खुसी छैनन्। उनले आगामी खेलमा आफ्नै ब्याट प्रयोग गर्न चाहेको बताए। ‘मेरो ब्याट समयमै आइपुग्यो भने म आफ्नै प्रयोग गर्छु। ब्रेविसको ब्याट फिर्ता गर्छु। इमानदारीपूर्वक भन्नुपर्दा मलाई त्यो ब्याट खासै मन परेन। यसको तौल मेरो लागि ठीक थिएन। यो युवाहरूका लागि हो, जो बलियो स्विङ गर्छन्। त्यसैले अब प्रयोग गर्दिनँ,’ उनले भने।
डि कक र रायन रिकेलटनबीच दोस्रो विकेटका लागि भएको १६२ रनको साझेदारीले २२२ रनको कठिन लक्ष्य पछ्याउन दक्षिण अफ्रिकालाई सहज बनायो। ब्रेविस चौथो नम्बरमा आए पनि ४ रनमै आउट भए। त्यसपछि रिकेलटन र जेसन स्मिथले टोलीलाई जित दिलाए।
सुपरस्पोर्ट पार्कमा यो दक्षिण अफ्रिकाको तेस्रो सर्वाधिक सफल रन चेज हो। यही मैदानमा वेस्ट इन्डिजविरुद्ध २५९ रन पछ्याएको रेकर्ड पनि दक्षिण अफ्रिकाकै नाममा छ। डि ककका अनुसार विकेट ब्याटिङका लागि अत्यन्तै अनुकूल थियो।
‘विकेट निकै राम्रो थियो। यस्तो पिचमा ब्याटिङ सजिलो हुन्छ। म सामान्यतया कठिन अवस्थामा संघर्ष गर्दै रन बनाउँदा बढी सन्तुष्टि मान्छु। आज त्यस्तो चुनौती थिएन। इनिङ्स रमाइलो भयो, टोली जित्यो। सब ठीक छ। तर टी–२० क्रिकेटमा अझ कठिन अवस्थामा बनाएका रनहरूले मलाई बढी सन्तुष्टि दिन्छन्,’ उनले निष्कर्ष निकाले।












-1769690582903.jpeg&w=3840&q=75)



