एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

फाइल तस्बिर
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अविलम्ब स्थगन गर्न उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रुपेश अधिकारीले माग गर्दै निवेदन हालेका छन्।
एन्फाले घोषणा गरेको निर्वाचन अवैध रहेको दाबी गर्दै यी दुईले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अविलम्ब स्थगन गर्न निवेदन हालेका हुन्।
एन्फाले २८ माघमा अर्डिनरी कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, यसबारे कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। यसअघि नै उक्त निर्वाचनको वैधताबारे राखेपमा निवेदन पेश भई छलफल भइरहेको छ। यस्तो अवस्थामा एन्फाले निर्वाचन कार्यक्रम सार्वजनिक गर्नु अनुचित भएको उनीहरूको भनाइ छ।

कार्यवाहक राखेप सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरी पेश गरिएको निवेदनमा एन्फाका उपाध्यक्ष शाही तथा सदस्य अधिकारीले हस्ताक्षर गरेका छन्। निवेदनमा निर्वाचन प्रक्रिया रोक्का नगरेसम्म थप कानुनी तथा संस्थागत जटिलता बढ्न सक्ने उल्लेख गरिएको छ।
यसैबीच, एन्फाले भने सोमबार सार्वजनिक सूचना जारी गर्दै २८ माघको साधारण सभा तथा २०८२–२०८६ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचन हुने जानकारी दिएको छ। सूचनाअनुसार उम्मेदवारी मनोनयन फाराम २१ पुसदेखि एन्फा सचिवालयबाट उपलब्ध गराइने र ३ माघभित्र दर्ता गरिसक्नुपर्ने उल्लेख छ।
एन्फा निर्वाचनलाई लिएर आन्तरिक विवाद चर्किंदै जाँदा राखेपको आगामी निर्णयले नेपाली फुटबलको नेतृत्व छनोट प्रक्रियामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।










-1767608511823.jpeg&w=3840&q=75)


-1767597180139.jpeg&w=3840&q=75)

