एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव अर्को महिना गर्न प्रस्ताव गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको कार्यसमिति बैठकले आगामी माघमा नयाँ कार्यसमितिका लागि चुनाव गर्न प्रस्ताव गरेको हो।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले साधारण सभासम्बन्धी अजेन्डा समेट्दै बुधबार एन्फा कार्यसमिति बैठक बोलाएका थिए।
बैठकमा साधारण सभा तथा निर्वाचनसम्बन्धी अजेन्डालाई मुख्य रूपमा समावेश गरिएको थियो।
एन्फाको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ साल असार ६ गते सकिँदैछ। एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा अधिकतम ६ महिनासम्म कार्यकाल थप गर्न सकिने प्रावधान थियो।
नियमित निर्वाचन गर्ने समयमै सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने भएकाले एन्फा माघ मै अर्ली इलेक्सनमा जान प्रस्ताव गरिएको हो। यद्यपि, यस विषयमा छलफल चलिरहेको सहभागी एक सदस्यले जनाकारी दिए।
‘हामीले माघ २८ मै निर्वाचनमा जान प्रस्ताव राखेका छौं। अहिले यहीबारे छलफल भइरहेको छ। बाँकी कुरा पछि सार्वजनिक हुनेछ,’ ती सदस्यले खेलपाटीसँग भने।
जिल्ला र क्लब तहमा राम्रो पकड रहेको वर्तमान नेतृत्वले रणनीतिक फाइदाका लागि अर्ली इलेक्सन गर्न खोजेको आरोप लाग्दै आइरहेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलअघि चुनाव गर्दा त्यसको लाभ लिन सकिने अनुमान पनि गरिएको छ।








-1767150421112.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

