मलेसियासँग नेपाल फेरि पराजित

काठमाडौं। मलेसियाविरुद्धको टी–२० आई सिरिजमा नेपाल फेरि पराजित भएको छ। आइतबार सम्पन्न तेस्रो खेलमा घरेलु टोलीले नेपाललाई १३ रनले हराउँदै ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ।
पहिलो खेलमा मलेसियाले ३ रनको जित हात पारेको थियो। दोस्रो खेलमा भने नेपालले ६ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको थियो। तेस्रो खेलमा मलेसियाले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
नेपालकी ओपनर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन्। ३७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। कप्तान इन्दु बर्मा २२, ओपनर सम्झना खड्का १८ र कविता कुँवर १५ रनमा आउट भइन्।
मलेसियाका नुर दानिया र एलिसा फिरदौजले समान १ विकेट लिइन्।
त्यसअघि क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो।
ओपनर आइन्ना हमिजाह हाशिमको सर्वाधिक ६१ रन बनाइन्। ५८ बलमा उनले ५ चौका प्रहार गरिन्। मास एलिसा ३० र वान जुलिया १६ रनमा आउट भइन्।
नेपालका कविता कुँवर र कविता जोशीले समान २ विकेट लिइन्।














