तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

काठमाडौं। तीन वर्ष टिमबाट बाहिर रहेर फर्किनु कुनै पनि खेलाडीका लागि सजिलो कुरा होइन। तर, अलरान्डर मोहम्मद आदिल अन्सारीले आफ्नो कमब्याकलाई अवसर, चुनौती र जिम्मेवारीको रूपमा लिएका छन्।
‘तीन वर्ष लामो समय भयो। फेरि टिममा फर्कन पाउँदा खुशी त लाग्छ, तर नियन्त्रण र ध्यान पनि जरुरी छ,’ वेस्ट इन्डिजविरुद्धको खेलपछि उनले भने। वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा उनले मौका पाएका थिएनन्।
उक्त खेलमा नेपालले १९ रनको जित निकालेको थियो। तर, पेसर बलर नन्दन यादव घाइते भएपछि उनले दोस्रो खेलमा मौका पाएका हुन्। यस खेलमा उनको कमब्याक व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमका लागि योगदानको पनि परीक्षा बन्यो।
उनले अन्तिम पाँच बल खेल्ने जिम्मेवारी पाएका थिए। त्यसमा उनले ११ रन बनाए। ‘त्यो समयमा दुई बाउन्ड्री मात्र भए, तर मैले जिम्मेवारी निभाउने प्रयास गरें। टिमका लागि खेल्दा व्यक्तिगत प्रदर्शन भन्दा बढी रणनीति र जिम्मेवारी महत्त्वपूर्ण हुन्छ,’ आदिलले अनुभव सुनाए।
आदिलले बलिङ र ब्याटिङ दुवैमा आफ्नो बहुप्रकारको क्षमता देखाएका छन्। उनले चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर चार विकेट लिए। योसँगै नेपालले खेल ९० रनले जित्दै सिरिज २-० ले आफ्नो बनायो।
‘अफ पेस बलिङ मेरो स्ट्रेन्थ हो। मैले विपक्षीको अध्ययन गरेर प्लेयर अनुसार फिल्ड प्लान बनाएँ। चार विकेट लिएँ, तर मुख्य कुरा टिमलाई सहयोग गर्नु थियो,’ उनले भने।
तीन वर्षको अन्तरालमा उनले लगातार तयारीमा ध्यान दिएका थिए। उनको दृष्टिकोणमा जतिबेला पनि ब्याटिङ र बलिङमा टिमका लागि योगदान दिनु मुख्य भूमिका हो। तीन वर्षपछि फर्केर उनले व्यक्तिगत प्रदर्शन मात्र होइन, टिममा स्थायी प्रभाव बनाउने योजना बनाएका थिए।
‘कमब्याक हार्ड हिटिङ होइन। मैले ब्याटिङमा विविधता ल्याएँ, बलिङमा आफ्नो क्षमता प्रयोग गरें। डिफिकल्ट समयमै व्यस्त रहँदा टिममा फर्किन सजिलो भयो,’ उनले भने।














