अनन्त पनि बंगलादेश पुगे

काठमाडौं। नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ अब बंगलादेश प्रिमियर लिग (बीपीएल) क्लब फोर्टिस एफसीमा देखिने भएका छन्।
२०२५/२६ सिजनका लागि आधिकारिक रूपमा फोर्टिस एफसीले उनलाई अनुबन्ध गरेको हो। तामाङ प्रि–सिजन क्याम्पमा सहभागी भइसकेका छन्।
यसपटक बंगलादेश फुटबल महासंघले ल्याएको ‘साफ कोटा नियम’ ले दक्षिण एसियाली खेलाडीलाई स्थानीय खेलाडीकै रूपमा दर्ता गर्न सकिने व्यवस्था गरेको छ। यही अवसरलाई उपयोग गर्दै पछिल्ला दिनमा धेरै नेपाली खेलाडी ढाकातर्फ लागेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसक्दा खेलाडीहरू लिगविहीन बन्न पुगेका छन्। खेलमा निरन्तरता खोज्दै उनीहरू विदेशी लिगमा जान बाध्य छन्। यसै क्रममा राष्ट्रिय टोलीका एक महत्त्वपूर्ण डिफेन्डर तामाङले समेत बंगलादेशलाई आफ्नो गन्तव्य बनाएका हुन्।
अनन्तले यसअघि भारत र नेपाल दुवै देशको शीर्ष स्तरका लिगको अनुभव लिइसकेका छन्। अब फोर्टिस एफसीका तर्फबाट बीपीएल खेल्दै उनले आफ्नो करियरलाई नयाँ चरणमा पुर्याउने अपेक्षा गरिएको छ।
बीपीएल आगामी २७ सेप्टेम्बर २०२५ बाट सुरु हुँदैछ। ढाकाको मैदानमा यसपालि नेपाली खेलाडीहरूको बाक्लो उपस्थिति हुने देखिँदैछ, जसले एकातिर नेपालमा घरेलु लिगको संकटलाई झल्काउँछ भने अर्कोतिर नेपाली खेलाडीको अन्तर्राष्ट्रिय ख्याती बढाउने सम्भावना पनि बोकेको छ।