काठमाडौं । विजेश्वरीकी सुस्मिता खड्का र स्वर्णिमकी स्मृति पन्तले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको यु–१२ गल्र्स सिंगल्स फाइनलमा सुस्मिताले एभीएमकी वियंका राईलाई ११–६, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरिन् । यु–१६ गल्र्स सिंगल्स फाइनलमा स्मृतिले आफ्नै स्कुलकी आभा पन्तलाई ११–५, १२–१० र ११–५ को सीधा सेटमा हराइन् ।
ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष फाइनलमा अखिल नेपाल टेबलटेनिस क्लबका चन्दन शाहीले सुनसरीका रन्जन सुब्बालाई ३–० को सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान हात पारे ।
काठमाडौंकाद्वय उमेश मानन्धर र जयराम महर्जन संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थानमा रहने उनीहरुले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सयका दरले नगद पुरस्कारको हक्दार बने ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् ।