काठमाडौं । दोस्रो संस्करणको सम्झना कप राष्ट्रिय खुल्ला टेबल टेनिस च्याम्पियनसिप आगामी शनिबारबाट सुरु हुने भएको छ ।
आयोजक ललितपुर टेबल टेनिस क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगिता माघ १९ देखि आघ २२ सम्म आयोजना हुने जानकारी गराएको हो । क्वीन्स इभेन्ट्सको व्यवस्थापनमा हुने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित संघसंग आबद्द २६ जिल्ला र स्कुल कलेजबाट ३५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगतामा खेलाडीहरुले ११ स्वर्ण,११ रजत र १९ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० माथि) महिला/पुरुष एकल (कलेज), १६ बर्षमुनी महिला/पुरुष एकल, १४ बर्षमुनी महिला/पुरुष एकल र १२ बर्षमुनी महिला/पुरुष एकलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको खुल्लातर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रान्स एकलको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन उपत्यका भित्रका खेलाडीले एक हजार रुपैया दर्ता शुल्क तिर्नुपर्नेछ । उपत्यका बाहिरका खेलाडीले निशुल्क दर्ता गर्न पाउने छन् ।
यस प्रतियोगितालाई हंगेरीमा हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको लागि छनोट प्रतियोगिताको रुपमा राखिएको छ । च्याम्पियनसिप आगामी अप्रिल २१ देखी २८ सम्म बुढापेस्टमा हुनेछ ।