काठमाडौं । दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दोमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको टिम प्रथम भएको छ । प्रतियोगितामा सहभागी २८ वटा टिम मध्य ६ स्वर्ण ४ रजत र १ काश्य पदक सहित आयोजक टिम प्रथम, ३ स्वर्ण र ३ काश्य पदक प्राप्त गरी कोटेश्वर तेक्वान्दो डोजाङ टिम दोस्रो र ३ स्वर्ण र २ काश्य पदक प्राप्त गरि युनाईटेड तेक्वान्दो डोजाङ टिम तेस्रो भयो ।
उत्कृष्ट खेलाडीमा सिनियरतर्फ विजेश्वरीकी सरिता रुवाली र जुनियरतर्फ ईसीडिसी तेक्वान्दो डोजाङकी पुष्पा बादी उत्कृष्ट घोषित भए । प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी २८ वटा विद्यालय तथा डोजाङबाट २ सय १ जना छात्रा तेक्वान्दो खेलाडी सहभागी थिए ।
फाइटतर्फ ६२ केजी समूहमा युनाइटेड तेक्वान्दो डोजाङकी कविता तामाङ, ५७ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मिता मोक्तानले स्वर्ण जिते ।
५३ केजी समूहमा ढल्को तेक्वान्दो डोजाङकी अञ्जली राईले स्वर्ण हात पार्दा ४९ केजी समूहमा विजेश्वरीकी योगमाया श्रेष्ठले स्वर्ण पदक जितिन् ।
४६ केजी समूहमा विजेश्वरीकी सरिता रूवालीले स्वर्ण हात पार्दा ४४, ४२, ३७ र ३४ केजी तौल समूहमा क्रमश अमिशा कार्की, सदिक्षा कार्की, सुप्रिमा बजगाई र स्वस्तिका महर्जनले स्वर्ण जिते ।
प्रतियोगिताको ३१, २९ र २४ केजी तौल समूहमा विनिशा राई, करुणा श्रेष्ठ र पुष्पा बादीले क्रमश स्वर्ण जिते ।
यस्तै, २० केजी तौल समूहमा कोटेश्वर तेक्वान्दो डोजाङकी रन्जिता थापाले स्वर्ण पदक जितिन् । सिंगल पुम्सेतर्फ कोटेश्वर तेक्वान्दो डोजाङका सन्ध्या लामाले स्वर्ण जितिन् भने ग्रुप पुम्सेमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ‘ए’ बाट सरिता गुरूङ, हेमकला मगर र रिता श्रेष्ठले स्वर्ण पदक हात पारिन् ।
सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती दिपा थापाको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रतियोगितालाई नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले समापन गरेका थिए ।