काठमाडौं। नापोलीले आइतबार एसी मिलानलाई २–१ ले पराजित गर्दै सिरी ‘ए’ मा लिग लिडर इन्टर मिलानको पछ्याइरहेको छ। यो जितपछि नापोली शीर्षस्थानको इन्टरभन्दा तीन अंकले मात्र पछाडि छ।
खेलको पहिलो मिनेटमै मातेओ पोलिटानोले लो फिनिश गर्दै नापोलीलाई अग्रता दिलाए। त्यसपछि १९औं मिनेटमा रोमेलु लुकाकुले आफ्नो करिअरको ४००औं गोल गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए।
नापोलीको लागि यो जित महत्त्वपूर्ण रह्यो। अब बाँकी आठ खेलमध्ये शीर्ष १० भित्रका टोलीहरूसँग केवल बोलोग्नासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। इन्टरले भने युरोपियन तथा इटालियन कप पनि खेल्नुपर्ने छ। यसले इन्टरमाथि दबाब थपिएको छ। तर, नापोली एकमात्र लिग जित्ने लक्ष्यमा केन्द्रित हुनेछ।
‘हामी एक एक खेल गरेर अघि बढ्न चाहन्छौं। हामी आफ्ना समर्थकहरूलाई खुसी बनाउन चाहन्छौं। त्यसपछि सिजनको अन्त्यमा के हुन्छ हेर्नेछौं,’ पोलिटानोले भने।
रुबेन लोफ्टस–चिकको अनुपस्थितिले मिलान पहिलो हाफमा संघर्षरत देखियो। तर, दोस्रो हाफमा राफाएल लिआओ र सान्टियागो गिमेनेजको आगमनले टिमलाई उर्जा दियो।
गिमेनेजले ६९औं मिनेटमा पेनाल्टी पाएका थिए। तर, गोलकिपर एलेक्स मेरिटले उनको प्रहार बचाए। त्यसपछि ८४औं मिनेटमा लुका योभिचले थियो हर्नान्डेजको क्रसमा गोल गरे। तर, त्यतिन्जेल ढिलो भइसकेको थियो।
मिलान नवौं स्थानमै कायम छ र च्याम्पियन्स लिग स्थानभन्दा नौ अंक टाढा छ। अब मिलानले बुधबार इटालियन कप सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानको सामना गर्नेछन्।
‘हामी निकै ढिला खेलमा फर्कियौं। पहिलो २० मिनेटमा नै गोल खायौं, जुन हाम्रो योजनामा थिएन,’ मिलानका प्रशिक्षक सर्जियो कोन्सेइकाओले भने।
इन्टरको संघर्षपूर्ण जित
इन्टर मिलानले उडिनेसलाई २–१ ले पराजित गर्दै लिगको शीर्षस्थान आफूलाई कायम राखेको छ। मार्को अर्नाउटोभिक (१२औं मिनेट) र डेविडे फ्राटेसी (२९औं मिनेट) को गोल इन्टरका लागि निर्णायक सावित भए।
तर, ७१औं मिनेटमा उडिनेसका ओमार सोलेटले गोल गरेपछि इन्टर दबाबमा परेको थियो। इन्टरका प्रशिक्षक सिमोने इनजाघीलाई खेलको अन्त्यतिर रिसाएको कारण रातो कार्ड दिइयो।
इन्टरको अब च्यालेन्जिङ महिना आउँदैछ, जहाँ बायर्न म्युनिखसँग च्याम्पियन्स लिग क्वार्टरफाइनल, बोलोग्ना र रोमासँग महत्त्वपूर्ण लिग खेल छन्।
‘हामीले निकै राम्रो सुरुआत गरेका थियौं। तर, एक समयमा आएर खेल्नै रोक्यौं। हाम्रो लागि यो खतरा हुन सक्छ,’ इनजाघीले भने।