काठमाडौं। बार्सिलोनाका फरवार्ड डानी ओल्मोलाई खुट्टामा चोट लागेको छ। ओसासुनाविरुद्ध बार्सिलोनाले बिहीबार ३–० को निकालेको खेलमा उनले चोट बोकेका हुन्। योसँगै उनले केही खेल गुमाउन सक्ने सम्भावना रहेको प्रशिक्षक हान्सी फ्लिकले बताएका छन्।
ओल्मोले खेलको पहिलो हाफमा दायाँ खुट्टाको माथिल्लो भागमा चोट बोकेका थिए। २८औं मिनेटमा उनलाई परिवर्तन गरिएको थियो। त्यसअघि उनले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरेका थिए।
‘चोट गम्भीर देखिन्छ। अहिलेको तालिकामा दुई हप्ताको अनुपस्थिति भनेको धेरै खेलहरू गुमाउनु हो, जुन राम्रो होइन,’ प्रशिक्षक हान्सी फ्लिकले भने।
बार्सिलोनाले आउँदो आइतबार जिरोनालाई घरेलु मैदानमा स्वागत गर्दैछ। हाल बार्सिलोना ला लिगामा रियल मड्रिडभन्दा तीन अंकको अग्रतासहित शीर्ष स्थानमा छ।
त्यसपछि, अप्रिल ४ मा एट्लेटिको मड्रिडको मैदानमा कोपा डेल रे सेमिफाइनलको दोस्रो लेग खेल्नेछ। पहिलो लेग ४–४ को बराबरीमा सकिएको थियो।
ला लिगामा रियल बेटिसविरुद्ध खेलपछि अप्रिल ९ मा च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बोरुसिया डर्टमुन्डसँग प्रतिस्पर्धा गर्नेछ। ओल्मो गत समरमा बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले हालसम्म सात गोल गर्दै उत्कृष्ट ‘प्लेमेकिङ’ क्षमता देखाएका छन्।
उनको अनुपस्थितिले बार्सिलोनाको आक्रमणमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।