काठमाडौं। लियोनका कप्तान जेम्स रोड्रिग्वेज र प्रशिक्षक एडुआर्डो बेरिजोले फिफालाई क्लब विश्वकपबाट मेक्सिकी टोलीलाई हटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
फिफाले बहु–क्लब स्वामित्वसम्बन्धी नियम उल्लंघन गरेको भन्दै लियोनलाई गत हप्ता क्लब विश्वकपबाट हटाएको थियो। लियोन र पाचुक दुवै क्लब विश्वकपमा छनोट भएका थिए। तर, दुवै क्लब एउटै मालिक ग्रुपो पाचुकाअन्तर्गत रहेकाले फिफाले कारबाही गरेको हो।
रोड्रिग्वेजले संचारमाध्यमसँग भने,‘हाम्रो टोलीलाई बाहिर राख्नु ठूलो अन्याय हो। यो फुटबलकै लागि धब्बा हुनेछ। समर्थकहरूले टिकट खरिद गरिसकेका छन् र तिर्न ऋणसमेत लिएका छन्। अहिले उनीहरूलाई खेल नहुने भनेर कसरी भन्ने?’
सन् २०१४ विश्वकपमा गोल्डेन बुट विजेता रहेका रोड्रिग्वेजले लियोनसँग एक वर्षको सम्झौता गरेका थिए। क्लब विश्वकप खेल्न चाहेका कारण पनि टोलीमा अनुबन्ध भएको उनले बताएका छन्।
‘केही हप्ताअघि मात्र हामीलाई बाहिर राख्ने भनियो। म आशा गर्छु, फिफाले केही गर्ने,’ उनले भने। लियोनका मालिक अर्को महिना स्पोर्ट्स आर्बिट्रेशन कोर्ट (सिएएस) मा अपील गर्ने तयारीमा गरेका छन्।
लियोनका प्रशिक्षक एडुआर्डो बेरिजोले भने,‘सिएएसले हाम्रो पक्षमा निर्णय गर्नुपर्छ। हामीले कुनै नियम उल्लंघन गरेका छैनौं। यो निर्णय अनुचित छ, अझै सुधार गर्न समय छ।’
फिफाले लियोनको स्थानमा आउने टोली घोषणा गरिसकेको छैन। तर, कोस्टारिकाको क्लब लिगा डेपोर्टिभा अलाजुएलेन्से क्लब विश्वकप खेल्न इच्छुक रहेको बताएको छ।
लियोनका मिडफिल्डर आन्द्रेस गुआर्डाडोले भने,‘हाम्रो ठाउँ लिन खोज्ने टोली लज्जित हुनुपर्छ। यो ठूलो अन्याय हो। यदि कसैले गल्ती गरेको छ भने, त्यो फिफा नै हो।’
मेक्सिकोमा लियोन र पाचुका मात्रै होइन अन्य कम्पनीहरूले पनि दुई या बढी क्लब स्वामित्वमा राखेका छन्। ग्रुपो कालेन्टेले टिजुआना र क्वेरेतारो हेरिरहेको छ। ग्रुपो ओरलेगीले एटलास र सान्टोसकाको स्वामिक्त छ। यस्तै, टिभी अझ्टेकासँग माजाट्लानको पूर्ण स्वामित्व र पुएब्लाको आंशिक स्वामित्व छ।