काठमाडौं। मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अमेरिकामा आयोजना हुने ३२ टोली सहभागी पहिलो क्लब विश्वकप म्यानचेस्टर सिटीले जितेपनि आफू र खेलाडी कुनै बोनसको हकदार नरहेको बताएका छन्।
फिफाले यस हप्ता जुन १४ देखि जुलाई १३ सम्म चल्ने उक्त प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको थियो। उपाधि जितेमा सिटीले कम्तीमा १०० मिलियन डलर प्राप्त गर्नेछ।
तर, शुक्रबार पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई सोध्दा भने,‘हामी यस सिजन कुनै बोनसका लागि लायक छैनौं। यदि हामीले क्लब विश्वकप जित्यौं भने त्यो क्लबकै लागि हुनेछ।’
उनले थप्दै भने,‘प्रशिक्षक, स्टाफ, खेलाडी हामी कसैले पनि कुनै बोनस पाउनु हुँदैन। घडीसमेत पाउन हुन्न!’ उनको यो टिप्पणी सिटीको यो सिजनको निराशाजनक प्रदर्शनप्रति संकेत थियो।
क्लबले पाँचौं पटक लगातार प्रिमियर लिग जित्ने सम्भावना गुमाइसकेको छ र च्याम्पियन्स लिगको नकआउट चरणसम्म पनि पुग्न सकेको छैन। सिटीको कमजोर प्रदर्शनको एक प्रमुख कारण टोलीका स्टार मिडफिल्डर रोड्रीको अनुपस्थिति रहेको ग्वार्डिओलाले स्वीकारे।
स्पेनका बलोन डी’ओर विजेता रोड्रीले सेप्टेम्बर २२ मा एसीएल चोट बोकेका थिए, जसका कारण ग्वार्डिओलाले उनलाई सिजनभरि बेच्नमा रहने घोषणा गरेका थिए।
तर, रोड्रीले भने सिजन सकिनुअघि फर्कने आशा व्यक्त गरेका छन्। त्यसबारे ग्वार्डिओलाले भने,‘मलाई थाहा छैन, म आशा गर्छु। तर, चाँडै फर्कने प्रयासले झन् ठूलो समस्या ल्याउन सक्छ।’
उनले थपे,‘डाक्टरले साढे सातदेखि आठ महिनासम्म मैदान बाहिर रहने बताएका छन्। अहिले साढे ६ महिना भइसकेको छ। उनीमा राम्रो सुधार भइरहेको छ। तर, प्रतिस्पर्धात्मक खेल खेल्न अझै तयारी आवश्यक छ।’
क्लब विश्वकपलाई जित्ने लक्ष्य बनाउँदै उनको स्वास्थ्य जोखिममा नपार्ने ग्वार्डिओलाले बताए। ‘हामी १०० प्रतिशच ढुक्क भएपछि मात्रै उनलाई खेलाउनेछौं,’ ग्वार्डिओलाले भने।