काठमाडौं। फ्रेन्चाइज फुटबल क्लब धनगढी एफसीले शनिबारबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनका लागि आधिकारिक जर्सी र क्लब गान सार्वजनिक गरेको छ।
शुक्रबार धनगढीले संयुक्त रूपमा जर्सी र क्लबगान सार्वजनिक गरेको हो। जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले क्लबको नयाँ जर्सी र क्लब गान लक्ष्य, उत्साह र आत्मबललाई प्रतिबिम्बित गरेको बताए।
यसले क्लबका समर्थकहरूलाई अझ नजिक ल्याउने र टिमलाई उत्प्रेरित गर्ने विश्वास उनको छ। एनएसएलको तेस्रो सिजन चैत १६ देखि वैशाख १३ सम्म चल्ने छ। प्रतियोगितामा सातवटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन्।