काठमाडौं। सञ्जीव लामाको गोलसँगै ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा ब्वाइज युनियनले झापा फुटबल क्लबलाई १–१ को बराबरीमा रोकेको हो।
ब्वाइज युनियनको यो तेस्रो बराबरी हो। योसँगै टिमले तीन अंक पुर्याएको छ। पहिलो दुई खेलमा पराजय बेहोरेको झापाले भने एक अंक आत्मसात् गरेको छ।
झापाका निकेश श्रेष्ठले गोल गरे। सञ्जीवले गोल गर्दै ब्वाइज युनियनलाई अंक दिलाए। पहिलो हाफको निर्णायक समय सकिनै लाग्दा निकेशले झापालाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा सञ्जीवले गोल गर्दै ब्वाइज युनियनलाई हारबाट जोगाए।