काठमाडौँ । साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा एनसेलको साथ पाएको छ ।
शनिबारबाट सुरु हुने तेस्रो सिजनको प्रतियोगितामा ललितपुर सिटीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।
एनसेल र ललितपुर सिटी एफसीले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा बिहीबार हस्तक्षर गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।
साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौषला प्रदान गरेको क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले बताए । ललितपुर सिटी एफसीलाई मुख्य प्रायोजकको रुपमा प्रभु बैंकले प्रायोजन गरेको छ ।
तेस्रो सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
“एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भनेका छन् ।