काठमाडौं। फेरान टोरेस र डानी ओल्मोको सुरुआती गोलको मद्दतले बार्सिलोनाले बिहीबार ओसासुनालाई ३–० ले हराउँदै स्पेनिस लिगमा आफ्नो अग्रता बढाएको छ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोव्स्कीलाई अन्तिम क्षणसम्म आराम दिएका थिए। तर, उनले खेलको अन्तिमतिर मैदान प्रवेश गरेपछि फर्मिन लोपेजको क्रसलाई हेडर गर्दै तेस्रो गोल गरे।
यो गोल लेवान्डोव्स्कीको लिगमा २३औं गोल हो। यो खेल मार्च ८ का लागि तय गरिएको थियो। तर, बार्सिलोनाका एक डाक्टरको खेलअघि नै निधन भएपछि स्थगित गरिएको थियो।
यस जितसँगै बार्सिलोनाले सन् २०२५ मा खेलेका सबै प्रतियोगितामा अपराजित रहने आफ्नो यात्रालाई १९ खेलसम्म लम्ब्याएको छ।बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकको अग्रता बनाएको छ भने तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा सात अंक बढी छ।
अब लिगमा १० खेल बाँकी छ। टोरेसले ११औं मिनेटमा एलेजान्ड्रो बाल्डेको लो क्रसलाई सदुपयोग गर्दै पहिलो गोल गरे। बाल्डेलाई फ्रेन्की डे जोङले पास दिएका थिए, जसले गर्दा टोरेसले सजिलै आफ्नो सिजनको १४औं गोल गर्न सके। टोरेसले पहिलो हाफको अन्त्यतिर फ्रिकिक प्रहार गर्दा क्रसबारमा लागेको थियो।
‘म अवसरलाई अधिकतम उपयोग गर्न खोज्छु। म सुपर सब (ब्याकअप खेलाडी) होइन, प्रशिक्षकले आवश्यक ठानेको बेला म खेल्न तयार छु,’ उनले भने। २१औं मिनेटमा ओल्मोले पेनाल्टीबाट दोस्रो गोल गरे। उनले ओसासुना गोलकिपर सेर्गियो हेरेरासँग फाउल जितेका थिए।
हेरेराले पहिलो प्रहार रोक्न सफल भए पनि ओसासुनाका जोन मोंकायोलाले पेनाल्टी क्षेत्रभित्र चाँडै प्रवेश गरेको कारण दोहोर्याइयो। जहाँ ओल्मोले सफल प्रहार गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।
तर, केही मिनेटपछि खुट्टामा चोट बोकेर ओल्मोले मैदान छाड्नु पर्यो। ओसासुनाका शीर्ष स्कोरर आन्ते बुडिमिरले अन्तिम ३० मिनेट खेल्ने मौका पाए। तर, उनले आक्रमणमा कुनै प्रभाव पार्न सकेनन्।